सिन्धुलीको फिक्कलमा कार सुनकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता
सिन्धुली,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र कार एकापसमा ठोक्किँदा कार सुनकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार आज (साउन १८) बिहान करिब ११:४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बस, चालक सिन्धुली फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङले चलाइरहेका थिए ।
उक्त बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुल्कोटको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो । ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, स्काभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिका–१ निवासी गणेश थापा (धुर्ब थापाका छोरा, करिब २७/२८ वर्ष) तथा नाम, थर र वतन नखुलेका एक जना हेल्पर बेपत्ता भएका छन् ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखेको छ । बेपत्ता कार तथा तीन जनाको खोजी र उद्धार कार्य प्रहरीको टोलीले निरन्तर जारी राखेको जनाइएको छ ।

