कांग्रेसमा जन्म्यो तेस्रो धार, ‘देश र कांग्रेस जोड्ने अभियान’ ले साउन २० मा राष्ट्रिय भेला गर्ने



काठमाडौं,१७ साउन । नेपाली कांग्रेसमा संस्थापन र संस्थापन इतर पक्ष छुट्टाछुट्टै ढंगले अघि बढिरहेका बेला यी दुबै पक्षलाई मिलाउने उद्देश्य राखेर तेस्रो पक्षले अर्को अभियानको घोषणा गरेको छ । नेपाली कांग्रेसभित्रको आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ आइतबार ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको हो । ‘देश र कांग्रेस जोड्ने अभियान’ले आइतबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको नैनसिंह महरले बताए ।

अभियानद्वारा जारी वक्तव्यमा देश हाल गम्भीर चुनौतीबाट गुज्रिरहेको उल्लेख गरिएको छ । सुनसरीबाट सुरू भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, आर्थिक मन्दी,बेरोजगारी,युवा पलायन र सुशासनको संकटले जनजीवन कष्टकर बनेको तर्फ अभियानले ध्यानाकर्षण गराएको छ ।

सरकार जनगुनासो सम्बोधन गर्न प्रभावकारी नभएको अवस्थामा मुख्य प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताको विषय भएको वक्तव्यमा जनाइएको छ ।

‘कांग्रेस विभाजित हुँदा प्रतिगामी शक्तिहरू हाबी हुने र लोकतन्त्र कमजोर हुने ऐतिहासिक तथ्यलाई आत्मसात् गर्दै हामीले यो अभियान सुरु गरेका हौँ,’ वक्तव्यमा भनिएको छ ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा साउन २० गते आयोजना गरिने राष्ट्रिय एकता भेलामा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका साथै विभिन्न तह, वर्ग र समुदायका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिने आयोजकको दाबी छ ।

भेलाले पार्टी एकतालाई संस्थागत बनाउने,जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र कार्ययोजना सार्वजनिक गर्ने नेताहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्