घुस लिएको आरोपमा तीन कर्मचारी पक्राउ
काठमाडौं,२३ चैत । काठमाडौं र सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तीन कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्जिनियर सुमन राई,लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठ रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भोजपुर जिल्ला, टेम्केमैयुङ गाउँपालिका–५ खावास्थित पशुपति माध्यमिक विद्यालयको भवन निर्माण कार्यसँग सम्बन्धित अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख दिँदै घुस मागिएको भन्ने उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । आयोगको टंगालबाट खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट पक्राउ गरेको हो भने इटहरी कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकाहरूबाट घुस रकम, तीन थान मोबाइल र सम्बन्धित कागजातसमेत बरामद गरिएको आयोगले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन् ।

