आज सभामुख निर्बाचनका लागि उम्मेदवारी दर्ताको कार्यतालिका,अर्याल सभामुख हुने निश्चिति
काठमाडौं,२० चैत । प्रतिनिधिसभाको सभामुख चयनको लागि चैत २२ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ।निर्बाचन कार्यतालिका अनुसार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज उम्मेदवारी दर्तासंगै दर्ता भएका उम्मेदवारको सूची प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको लागि मिति तोक्नुभएको थियो। सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन हुनेछ ।
सभामुखका लागि रास्वपाका तर्फबाट उपसभापति डीपी अर्यालले सभामुखका लागि उम्मेदवारी दर्ता गर्दै छन् । बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउन सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत पारित गर्दै रास्वपाले अर्याललाई उम्मेदवार बनाउन लागेको हो। प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाई नजिकको बहुमत रहेका कारण अर्याल सभामुख बन्ने निश्चित छ ।
उता,राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते सोमबार हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा निर्वाचनको मिति तोक्नुभएको हो ।
अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचनका लागि चैत २३ गतेको दिन तय गर्नुभएको जानकारी दिनुभयो । उहाँले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशनसमेत दिनुभएको छ ।
यस्तै, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि चैत २४ गते मंगलबारको मिति तोकिएको छ । नियमावलीको नियम १५० बमोजिम रिक्त सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल चैत्र २२ गते आइतबार अपराह्न १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

