थुलुङ दुधकोशीमा धजुरी, फुर्का र पिचुरी निर्माण सम्बन्धि तालिम सम्पन्न



सोलुखुम्बु,२० चैत । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा पाँच दिन देखि जारी धजुरी, फुर्का र पिचुरी निर्माण सम्बन्धि तालिम सकिएको छ । थुलुङदुधकोशी रोजगार शाखाको आयोजनामा जारी उक्त तालिम बिहिबार सम्पन्न भएको हो ।

नागरिकलाई उद्यमी बनाउने र आयआर्जन गराउने उदेश्य सहित आयोजित तालिममा २७ जनाको सहभागीता रहेको थियो । तालिम पश्चात सहभागीले उद्यमी बन्न सहयोग पुग्ने भन्दै स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । उद्यमी बन्नको लागि सीप आवश्यक हुने भन्दै सहभागी तेरीना नाछिरिङ राईले आवश्यकताको पहिचान गरि सीप सिकाउने कार्य गाउँपालिकाले गरिरहेको र आगामी दिनमा पनि आयोजना गर्न आग्रह गर्नुभयो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीले सिकेको सीपलाई व्यबहार प्रयोग गर्न आग्रह गर्दै गाउँपालिकाले अतिथि सत्कारका लागि प्रयोग गरिने खदा प्रतिस्थापन गरिएको भन्दै त्यसको सट्टा धजुरा, फुर्का र सिलामसाक्मा लगायत प्रयोग गरिरहेको बताउँनुभयो । स्थानीय उत्पादनलाई जोड दिने गाउँपालिकाको नीति अनुसार कार्यक्रम सञ्चालन गरिएको प्रवक्ता कार्कीले नागरिकको सक्रियताले मात्रै स्वरोजगार सृजना हुने बताउँनुभयो ।

रोजगार संयोजक सुमन राईले स्थानीय उत्पादनलाई बजारीकरणका लागि आफुहरुले सहजिकरण गरिने भन्दै उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र बस्नेतले सीपले महिलालाई स्वरोजगार बन्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
‘सीप र स्वरोजगार–समृद्धिको आधार’ भन्ने नारा सहित आयोजित तालिमको सहजिकरण सुविमाया राई र गृष्मा राईले गर्नुभएको थियो । गाउँपालिका प्रबक्ता भोजराज कार्कीको अध्यक्षतामा सम्पन्न उक्त तालिमा सहभागी र प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्