कांग्रेस नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पनि पक्राउ पर्नुभएकाे छ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएकाे प्रहरी स्रोतले दावी गरेकाे हाे । ऊर्जामन्त्री खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिनुभएकाे छ । जेनजी आन्दोलनकाे समयमा उहाँको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले उक्त घटनालाई गम्भीर आर्थिक अनियमितता र श्रोत नखुलेको रकमसँग जोडेर अनुसन्धान अघि बढाएको जनाएको छ।
उक्त घटनामा ठूलो परिमाणमा नगद रकम जलेको सूचना बाहिरिएपछि यसको स्रोत, प्रयोग र सम्भावित गैरकानुनी गतिविधिबारे प्रश्न उठेका थिए। अनुसन्धान टोलीले घटनास्थलबाट प्रमाण संकलन गर्नुका साथै सम्बन्धित व्यक्तिहरूसँग बयान लिने काम गरिरहेको छ। प्रहरीले अनुसन्धान जारी रहेको भन्दै थप विवरण क्रमशः सार्वजनिक गर्ने जनाएको छ।

