घिसिङको नेतृत्वमा गठन भयो उज्यालो नेपाल पार्टीको १५ सदस्यीय सचिवालय
काठमाडौँ,७ चैत । उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो ।

पार्टीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । जसमा अध्यक्ष, वरिष्ठ नेता, एकजना महिलासहित दुई जना उपाध्यक्ष, महासचिव, एकजना महिलासहित दुईजना उपमहासचिव,तीनजना महिलासहित सातजना सचिव र एकजना कोषाध्यक्ष हुन्छन् ।
शुक्रबारको बैठकले भने ९ सदस्यको मात्रै टुङ्गो लगाएको छ । जस अनुसार अध्यक्षमा कुलमान घिसिङ, वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय, उपाध्यक्षमा प्राडा महेन्द्र लावती, महासचिवमा धर्म बहादुर चौधरी रहेका छन् ।
त्यस्तै, सचिवहरूमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का तथा कोषाध्यक्षमा भगवती कक्षपतिलाई चयन गरिएको छ । यीबाहेक पार्टीको प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापालाई चयन गर्दै सचिवालयमा ल्याइएको छ ।
अब एकजना उपाध्यक्ष, दुईजना उपमहासचिव र तीनजना सचिव पद रिक्त छ । मुख्यसचिव र प्रवक्ता भने विधानमा उल्लेख छैन ।

