अभिभावक सचेतनाका लागि विद्या सागर इङ्लिस बोर्डिङ स्कुलले आयोजना गर्‍यो बिशेष कार्यक्रम



काठमाडौं,२ चैत । जोरपाटीस्थित विद्या सागर इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा “Smart Parenting” विषयक विशेष अभिभावक सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पीस ब्यांक्वेट जोरपाटीमा शनिबार आयोजित उक्त कार्यक्रममा झण्डै ६ सय भन्दा बढी अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।

विद्यालयले अभिभावकहरूलाई बदलिँदो समयअनुसार सकारात्मक अभिभावकत्व, बालबालिकाको मानसिक विकास तथा जिम्मेवार मार्गदर्शन सम्बन्धी सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा विद्यालयका अभिभावकहरू मात्र नभई विभिन्न विद्यालय तथा स्थानीय समुदायका अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अभिभावकहरूले यस्तो कार्यक्रमले आफूहरूलाई बालबालिकाको व्यवहार,मनोविज्ञान र भविष्यप्रति अझ सचेत र जिम्मेवार बन्न प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमका प्रमुख वक्ता,प्रसिद्ध काउन्सेलर तथा मोटिभेशनल स्पिकर अशोक दाहालले आजको डिजिटल युगमा अभिभावकहरूले बालबालिकालाई सही संस्कार, अनुशासन र सकारात्मक वातावरण प्रदान गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि तथा सही जीवन मूल्यको निर्माणमा अभिभावकको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो।

उहाँले बालबालिकालाई केवल शैक्षिक सफलतामात्र होइन, नैतिक मूल्य, अनुशासन र सकारात्मक सोचसहितको जीवनशैली सिकाउन अभिभावक र विद्यालयबीचको सहकार्य अनिवार्य रहेको धारणा राख्नुभयो।

विद्यालय व्यवस्थापनले यस्ता कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता शैक्षिक तथा सचेतनामूलक कार्यक्रमहरू निरन्तर आयोजना गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्