अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेचा बिहिबारेमा विविध कार्यक्रम



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु,२५ फागुन । नेचासल्यान गाउँपालिका वडा नं. ३ र ४ को महिला सञ्जालको संयुक्त आयोजनामा ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाइएको छ ।

नेचासल्यान गाउँपालिका कार्यालय परिसरमा उपाध्यक्ष विना राईको प्रमुख आतिथ्यता र ३ नं. वडा स्तरीय सञ्जालका अध्यक्ष लेखकुमारी फयलको सभाध्यक्षतामा सोमबार मनाइएको नारी दिवस कार्यक्रममा प्रतियोगितात्मक र अप्रतियोगितात्मक विविध किसिमका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । जस अन्तर्गत प्रतियोगितात्मक कार्यक्रम म्युजिकल चियर प्रतियोगितामा कमला कटेल प्रथम,द्वितीय कामना भट्टराई र गोमा कटेल तृतीय स्थान ओगट्न सफल भएका छन् । प्रतियोगितामा स्थान ओगट्न सफल प्रतियोगीहरुलाई क्रमशः एक हजार, सात सय र पाँच सयका साथमा प्रमाणपत्र प्रदान गरिएको महिला सञ्जाल नेचासल्यान-३ का सचिव सावित्रा भट्टराईले जानकारी दिइन्।

सोही अवसरमा नेचासल्यान गाउँपालिका-३ का दुई जना र वडा नं. ४ का तीन जना गरी पाँच जना उद्दमशील उद्दमी महिलाहरुलाई जनही पाँच सय रुपैयाँ नगदका साथमा प्रमाणपत्र प्रदान गरिएको सञ्जालका कोषाध्यक्ष सीता फुयालले जानकारी दिइन् ।

कार्यक्रममा वडा नं को सिमटोल र भदौरे टोलका ज्येष्ठ महिलाहरुले लोप हुन लागेको सांस्कृतिक नृत्य र सङ्गिनी गीत प्रस्तुत गरेका थिए । उनीहरुलाई नगद पुरस्कारबाट हौसला र प्रेरणा प्रदान गरिएको वडा नं. ४ महिला सञ्जालका सचिव आङडिकी राईले बताइन् ।

विविध प्रतियोगितात्मक कार्यक्रमकासाथमा मनोरञ्जनात्मक भाग्यशाली चिठ्ठा कार्यक्रम समेत प्रस्तुत गरिएको कार्यक्रममा नेचासल्यान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरे,वडा अध्यक्ष सिताराम भट्टराई,नेचासल्यान गाउँपालिकाका प्रशासकीय अधिकृत युवराज पोख्रेल,नेचासल्यानका-३ वडा सदस्य जयन्ता अधिकारी लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्