११६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ख्याम्पुमा विविध प्रतियोगिता

खगिन्द्र राज बास्तोला,काठमाडौं,२६ फागुन । स्वाभिमान महिला समूह नेचासल्यान-१ को आयोजना तथा नेचासल्यान गाउँपालिकाको प्रायोजनमा नेचासल्यान गाउँपालिका-१ ख्याम्पुमा ११६ औं अन्तर्राष्ट्रिय नारी दिवस एक कार्यक्रमकाबीच मनाइएको छ ।

नेचासल्यान गाउँपालिका-१ को कार्यालयमा मनाइएको सो नारी दिवस कार्यक्रममा खुला निबन्ध लेखन प्रतियोगिता,कविता वाचन प्रतियोगिता,जोडी बेलुन खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त निबन्ध लेखन प्रतियोगितामा स्मारिका बस्नेत प्रथम,सुयोग बस्नेत द्वितीय, सबिना ढुंगाना तृतीय र सबिना मगरले सान्त्वना स्थान ओगट्न सफल भएका छन् । स्थान ओगट्न सफल प्रतियोगीहरुलाई क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय पुरस्कार प्रदान गरिएको समूह सचिब सरु तामाङले बताइन् ।
खुला कविता विधा अन्तर्गत कमला दाहाल प्रथम,शोभा कार्की द्वितीय,शान्ति कार्की तृतीय र सुजिता कार्की सान्त्वना भएका छन् । स्थान ओगट्न सफल प्रतियोगीहरुलाई क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय नगद पुरस्कार प्राप्त गरेका छन् भने जोडी बेलुन नृत्य प्रतियोगितामा सावित्रा राई प्रथम भएकी छन् ।
प्रतियोगितात्मक कार्यक्रमका अलावा उक्त नारी दिवस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । नारी दिवस कार्यक्रम राहत शिक्षक जिल्ला कार्यसमिति अध्यक्ष खगिन्द्रराज बास्तोला, नेचासल्यान गाउँपालिका शिक्षा समिति सदस्य रञ्जना मगरको विशेष आतिथ्यता,नेचासल्यान गाउँपालिका कार्यपालिका सदस्य किल्हामु शेर्पाको प्रमुख आतिथ्यता तथा सीतामाया थापाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

