पिडिपिले गर्‍यो एमालेलाई समर्थन



काठमाडौं,१० फागुन । जनताको जनवादी पार्टी, नेपाल (पिडिपि) ले आगामी निर्वाचनमा नेकपा एमालेप्रति समर्थन गर्ने निर्णय सार्वजनिक गरेको छ। पार्टीद्वारा जारी प्रेस वक्तव्यमा लोकतान्त्रिक गणतन्त्रमाथि भैरहेका देशी तथा विदेशी हस्तक्षेप तथा आक्रमणहरूको घोर भर्त्सना गरिएको छ।

पार्टीका महासचिव विश्वमणि घिमिरे ले जारी वक्तव्यमा उल्लेख गरेका छन्, “लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र नेपाली जनताको सार्वभौम अधिकार सुनिश्चित गर्नु हाम्रो ऐतिहासिक दायित्व हो। यसबाट हामी कुनै पनि अवस्थामा पछि हट्ने छैनौं।”

वक्तव्यमा हाल देशमा विकसित भएका अकल्पनीय तथा गम्भीर घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। संवेदनशील परिस्थितिमा राष्ट्रिय एकता, आपसी विश्वास र सहमतिका आधारमा अघि बढ्नु अपरिहार्य भएको जनाउँदै देशभित्रका सम्पूर्ण राजनीतिक शक्ति र सरोकारवालाहरूलाई समेटेर सहमतिमूलक वातावरणमा निर्वाचन सम्पन्न गरिनुपर्ने धारणा राखिएको छ।

पार्टी अध्यक्ष सन्ध्या तिवारी भेटवाल ले भनिन्, “लोकतन्त्रको मूल सौन्दर्य भनेकै स्वच्छ, निष्पक्ष र सहभागितामूलक निर्वाचन हो। देशलाई अस्थिरता र विघटनतर्फ लैजान खोज्ने प्रवृत्तिहरूलाई जनमतबाटै पराजित गर्न आवश्यक छ।”

पिडिपिले आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य ध्वजाबाहक उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी गराउन आफ्ना नेता–कार्यकर्ता तथा समर्थकहरूलाई आह्वान गरेको छ। जनमतको शक्तिमार्फत समृद्ध, स्थिर र आत्मनिर्भर राष्ट्र निर्माणतर्फ अघि बढ्न पार्टीले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्