सोलुखुम्बुमा एमाले नेतृ पार्वती राई कुटपिटबाट घाइते, एमाले र नेकपा आरोप प्रत्यारोपमा



सोलुखुम्बु, फागुन ७ । नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य पार्वती राई कुटपिटबाट घाइते भएकी छन्। बिहीबार साँझ सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा भएको विवादपछि उनीमाथि हातपात भएको जनाइएको छ।

घटनामा राईको टाउकोमा चोट लागेको र लोखिमस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि आराम गरिरहेकी नेकपा एमाले थुलुङ दूधकोशी गाउँकमिटीका अध्यक्ष भूपाल सिंह राईले जानकारी दिए। उनका अनुसार चुनावी एजेन्डाबारे छलफलका क्रममा नेपाल कम्युनिस्ट पार्टी निकट कार्यकर्ताले पार्वती राईमाथि सांघातिक आक्रमण गरेका हुन्।

अध्यक्ष राईले नेकपा थुलुङ दूधकोशीका कार्यकर्ता रामकिरण राई नेतृत्वको समूहले योजनाबद्ध रूपमा आक्रमण गरेको आरोप लगाए। “राजनीतिक छलफल भइरहेका बेला एक्कासी आक्रमण भयो, यो सामान्य विवाद होइन,” उनले भने।

तर आरोपित पक्षका रामकिरण राईले भने उक्त आरोप अस्वीकार गरेको छ। घाइते राईले गुन्डागर्दी शैलीमा हाम्रो पार्टी कार्यालय रहेको घरमा छिरेर घरदैलो अभियानको समिक्षा गरिरहेका कार्याकर्ता माथि हातपात गरेको उनीहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्