प्रसाईं पक्राउ प्रकरणले सरकारको अलोकतान्त्रिक चरित्र उदांगो : राप्रपा



काठमाडौं,५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले भनेका छन्, ‘सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ । बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ ।’

प्रसाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ ।

प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

प्रसाईंले सरकारसँगको सम्झौता पुरा नभए अनिश्चित कालीन बन्द गराउने र चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका छन् । उनी विरुद्ध झुटा अफवाह फैलाउन नहुने कसुरमा पनि अनुसन्धान गरिने एसपी भट्टराईले बताए ।

यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्