राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर उठाउन नपाउने



काठमाडौं,५ फागुन । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले गत भदौ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसहितलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणसम्बन्धी रिट निवेदनमा सुनुवाइ गर्दै अदालतको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । संयुक्त इजलासमा न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश बालकृष्ण ढकाल रहेका थिए ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता उद्धव प्रसाद चौलागाईं र अधिवक्ता वकिल प्रसाद गौतमले बहस गरेका थिए भने विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता कैलाश खत्रीले बहस गरेका थिए । जीतपुर–सिमरा उपमहानगरपालिकाका तर्फबाट अधिवक्ता विद्यादेवी कटुवाल र जीवनबहादुर बस्नेत उपस्थित भएका थिए । निवेदनमा स्थानीय तहले अनधिकृत रूपमा सवारी साधनबाट सडक उपयोग शुल्क तथा कर असुली गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्