जापानमा म्युजिक भिडियो र पुस्तक सार्वजनिक
काठमाडौं,३ फागुन । नेपाल-जापान दुई देशको सुमधुर दौत्य सम्बन्ध कायम भएको ७० वर्ष पुगेको अवसरमा एउटा म्युजिक भिडियो सार्बजनिक र पुस्तक विमाेचन गरिएको छ ।

शिवरात्रीको दिन पारेर जापानको शिजुओका प्रान्तको फुजिनोमिया महानगरपालिकाको भवनमा प्रा.ई.नरेश महर्जनको म्युजिक भिडियो र
साहित्यकार रिता महर्जन रितुकाे जापान यात्रा संस्मरण पुस्तक बिमोचन गरिएको हो। जापानमा विगत ४ दशक देखि बस्दै आउनुभएका प्रा. ई. नरेश महर्जनले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना सहित राष्ट्र भावले प्रेरित म्युजिक भिडियो ‘यो मन त जहाँ गए नि’ प्रोमोशन गर्नुभएको हो। जुन म्युजिक भिडियोमा राजेश हमालले मुख्य भुमिका गर्नुभएको छ ।
उता,फुजिनोमिया महानगरपालिकाका मेयर हिदेताडाको सभापतित्वमा नेपालको नेवाः साहित्यकार रिता महर्जन “ऋतु” को जापान भ्रमणको सिलसिलामा नेपाल भाषामा लेखिएको पुस्तक “म्हगसय् खनागु देय्” नियात्रा पुस्तक पनि सोही कार्यक्रममा मेयर हिदेताडा तथा महानायक राजेश हमालले विमोचन गर्नुभएको हो।
“फुजिनोमिया एशोशियशन फर इन्टरनेसनल रिलेशनस्” भन्ने संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा मेयर हिदेताडा सहित मन्त्री,सांसद तथा उच्च पदस्थ व्यक्तित्वहरु लगायत ३०० जनाको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ। सो कार्यक्रममा प्रोमोशन भएको म्युजिक भिडियो युट्युबमा हेर्न सकिने प्रड्युशर महर्जनले बताउनु भएको छ।

