महाशिबरात्री पर्व आज,देशैभरका शिबालयमा भक्तजनको भीड



काठमाडौं,३ फागुन । महाशिवरात्रि पर्व आइतबार देशैभरीका शिवालयमा विधिपूर्वक पूजा-आराधना एवम् दर्शन गरी मनाइँदै छ।महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आइतबार बिहानैदेखि चहलपहल शुरु भएको हो । आइतबार बिहान ४ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी र साधुसन्तको घुइँचो लागेको छ । यस वर्ष ८ लाख भन्दा बढी दर्शनार्थीले पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

पशुपति क्षेत्र आसपासमा गाडीको आवागमनमा विशेष व्यवस्थापन गरिएको छ । कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको हो । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको छ ।

पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन अवस्थामा गाडीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको हो । कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले दर्शनार्थीको लागि चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको बताउनुभयो ।

यसैबीच,प्रहरीले महाशिवरात्रि पर्वको दिन आज गरगहना लगाएर पशुपतिनाथको दर्शनमा नजान भक्तजनलाई अनुरोध गरेको छ । विभिन्न १३ बुँदे अनुरोधमार्फत प्रहरीले भक्तजनलाई सचेत गराएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर मन्दिरको दर्शनका लागि नआउन अनुरोध गरिएको बताउनुभयो ।

पशुपतिनाथ मन्दिर प्राङ्गणमा सबै प्रकारका मोबाइल फोन, क्यामरालगायत सामग्रीको प्रयोग निषेध गरिएको तथा छालाका सामान, जुत्ताचप्पल, ज्याकेट, कम्मरपेटीलगाएर मन्दिरमा प्रवेश निषेध भएकाले त्यस्ता सामान तोकिएको सुरक्षित ठाउँमा राखेर मात्र दर्शन गर्न भनिएको छ । हरेक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आज भगवान शिवको विधिपूर्वक पूजाआराधना गरी देशभर मनाइँदैछ ।

आज देशभरका विभिन्न ठाउँ तथा छिमेकी भारतका तीर्थयात्रीको विशेष गरी पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्ने गर्छ । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायतलाई निषेध गरिएको छ । यस्ता बस्तु तथा पदार्थ भेटिए प्रहरीले कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्