एमाले सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चले बनायो निर्वाचन परिचालन कमिटी
काठमाडौ,२२ माघ । नेकपा एमाले सोलुखुम्बु–काठमाण्डौ सम्पर्क मञ्चले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

सम्पर्क मञ्चका अध्यक्ष खड्गप्रसाद राईको अध्यक्षतामा सम्पन्न बैठकले मञ्चका पुर्व अध्यक्ष अर्जुन कार्कीको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । बैठकले आर्थिक परिचालनका लागि पुर्व अध्यक्ष कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय तथा बच्चुनारायण श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरेको छ ।
नव गठित कमिटीले बिहिबार नै काठमाडौंमा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालय स्थापना गरी आफ्नो कार्यको औपचारिक शुरुवात समेत गरेको छ । काठमाडौं सरस्वतीनगरमा रहेको कार्यालयको आज कोशी प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री बुद्धिकुमार राजभण्डारी, नेकपा एमालेका कोशी प्रदेश सचिवालय सदस्य उत्तमकुमार बस्नेत तथा महेश किराँती, जिल्ला अध्यक्ष डुफकुमार बास्तोला लगायतको उपस्थितीमा उद्घाटन गरिएको छ ।
कमिटीले सोलुखुम्बु घर भई काठमाण्डौमा बसोबास गर्दै आएका मतदाताहरुसँगको अन्र्तक्रिया, भेटघाट तथा अन्य चुनावी कार्यक्रम संचालन गरी फागुन २१ गते सोलुखुम्बुसम्म नेकपा एमालेको पक्षमा मतदान गर्न जाने वातावरण तयार गर्ने संयोजक कार्कीले बताए ।

