शेर्पा सञ्चार समूह नेपालले ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने



दावा जाङ्बु शेर्पा,काठमाडौं,२१ माघ । शेर्पा सञ्चार समूह नेपालले मे फो त लो २१५३ औं ग्याल्पो लोसारको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

फागुन २ गते हुने सो कार्यक्रममा शेर्पा समुदायको भाषा,कला, संस्कृति संरक्षण तथा अधिकार र पहिचानको लागि वर्तमान अवस्थामा मिडियाको भूमिका विषयमा अन्तरक्रिया गरिने महासचिव मिङ्मा शेर्पाले जानकारी दिए।

संस्थाले शेर्पा समुदायको भाषा,कला र संस्कार संस्कृतिलाई संरक्षण तथा सम्बर्द्द्न गर्नुका साथै समुदायलाई पत्रकारिताको मुलधारमा ल्याउने उद्देश्यले विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा लाग्न चाहने व्यक्तिहरूलाई विभिन्न तालिम प्रदान गर्दै आएको छ ।

शेर्पा तथा नेपाली भाषामा उद्घोषण तालिम,समाचार लेखन र फोटो पत्रकारिता सम्बन्धी तालिम वार्षिक रुपमा सञ्चालन गर्दै आएको संस्थाका कार्यबाहक अध्यक्ष डोल्मा शेर्पाले बताइन ।

संस्थाले शेर्पा समुदाय रहेको जिल्लाहरूमा समेत संस्थाको शाखा विस्तार गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।संस्थाले सोलुखुम्बु, ओखुलढुङगा,खोटाङ,रामेछाप,ताप्लेजुङ र झापामा शाखा विस्तार गरि पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको संस्थाका महासचिव शेर्पाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्