देशको अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ : स्वास्थ्यमन्त्री शर्मा
काठमाडौं,२१ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएकी छन् ।

बुधबार लगनखेलस्थित मानसिक अस्पतालको अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले आफूले शपथ ग्रहण गरेकै दिनदेखि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् उनले अहिलेको राष्ट्रिय परिस्थितिका कारण समाजमा विभिन्न किसिमका विचलनहरू देखापरेको र त्यसको प्रत्यक्ष प्रभाव मानसिक स्वास्थ्यमा परेको उल्लेख गरिन् ।
‘मानसिक स्वास्थ्यलाई मैले शपथ ग्रहणकै दिनदेखि प्राथमिकतामा राखेको थिएँ । देश जुन परिस्थितिबाट गुज्रिरहेको छ, त्यसले समाजमा अनेक प्रकारका समस्याहरू जन्माएको छ, जसको प्रत्यक्ष असर मानसिक स्वास्थ्यमा देखिएको छ,’ मन्त्री शर्माले भनिन् ।
उनले विभिन्न अस्पतालहरूको निरीक्षणका क्रममा आफूले अनुमान गरेभन्दा धेरै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरू देखिएको बताइन् । महिला, पुरुष, किशोरी तथा बालबालिकासमेत मानसिक समस्याका कारण अस्पतालका बेडमा भर्ना हुनुपरेको र ओपिडीमा पनि बिरामीको उल्लेख्य भीड रहेको उनको भनाइ छ । मन्त्री शर्माले मानसिक स्वास्थ्य क्षेत्रले लामो समयदेखि अपेक्षित प्राथमिकता नपाएको स्पष्ट भएको उल्लेख गर्दै यस क्षेत्रलाई अब उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन् । उनले आगामी सरकारले पनि मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिएर प्रभावकारी कार्यक्रम अघि बढाउन आग्रह गरिन् ।
‘मानसिक स्वास्थ्य धेरै वर्षसम्म जति प्राथमिकतामा पर्नुपर्ने हो, त्यति पर्न सकेको छैन । अब आउने सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर ठोस कार्यक्रम अघि बढाओस्,’ उनले भनिन् ।

