भ्रमणमा नजान र उतै भए चाँडो इरान छोड्न नागरिकहरुलाई परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौं,१८ माघ । नेपाल सरकारले इरान भ्रमणमा नजान नेपाली नागरिकहरूलाई सल्लाह दिएको छ । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले आइतबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै अवस्था सामान्य नभएसम्म इरानको यात्रा गर्ने कुनै पनि योजना स्थगित गर्न भनेको हो ।

मन्त्रालयले भनेको छ, ‘इरानमा भइरहेको विकासक्रमलाई ध्यानमा राख्दै नेपाली नागरिकहरूलाई अवस्था सामान्य नभएसम्म देशको यात्रा गर्ने कुनै पनि योजना स्थगित गर्न सल्लाह दिइन्छ । त्यस्तै, हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध कुनै पनि माध्यमबाट सकेसम्म चाँडो देश छोड्न सल्लाह दिइन्छ ।’
यस्तै मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई पनि आपतकालीन निकासीको सहजताका लागि राहदानी र परिचयपत्र लगायतका कागजात तयार राख्न अनुरोध गरेको छ ।
आवश्यक समन्वयका लागि परराष्ट्र मन्त्रालय र दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

