नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका सात जना पक्राउ



काठमाडौं,१८ माघ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १९ वर्षीय किरण सिंह ठकुरी (तनहुँ म्याग्दे–७), ४० वर्षीय अनिल शर्मा (पर्वत फलेवास–१०), ३४ वर्षीय लक्ष्मण बस्नेत (काठमाडौंको तारकेश्वर–७), ४२ वर्षीय केशव फुयाँल (नुवाकोटको ककनी–१), ४७ वर्षीय विष्णु पाण्डे (नुवाकोटको तादी–४), ४३ वर्षीया दीपा लावती (काठमाडौं महानगरपालिका–२) र ५२ वर्षीय शोभाखर खनाल (गुल्मीको धुर्कोट–२) रहेका छन्।उनीहरूलाई बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रहरीका अनुसार डीभी लोटरी परेर अमेरिका जान लागेका तनहुँको म्याग्दे गाउँपालिका–७ घर भएका किरण सिंह ठकुरीले काठमाडौंस्थित अमेरिकी दूतावासमा पेश गरेको कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली पुष्टि भएपछि शैक्षिक प्रमाणपत्र बनाइदिने गिरोहका सदस्यहरू विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

त्यही आधारमा प्रमाणपत्र बनाउने तथा सहयोग गर्ने गिरोहका सदस्यहरूलाई पक्राउ गरी आइतबार आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको कार्यालयले जनाएको छ।कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले विदेश जाने प्रयोजनमा नक्कली कागजात प्रयोग गर्ने गतिविधि गम्भीर अपराध भएको भन्दै युमा संलग्नमाथि कडा कारबाही हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्