राजनीतिलाई समाजसेवा ठान्ने नेकपाकी उम्मेदवार डा.सिन्धु जलेसा
काठमाडौं, माघ १८ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ मा डा.सिन्धु जलेसा बुढाथोकीले उम्मेदवारी दिएकी छिन् ।

उनले लामो समयसम्म राजनीतिमा संघर्ष गरेकी छिन् । उनी राजनीतिलाई पेशा नभई समाजसेवाको रुपमा लिन्छन् । उनी जनताको दुःख–सुखबाट टाढा बसेर होइन, त्यही दुःखभित्र हुर्किएर यो राजनीतिक यात्रामा होमिएकी एक जुझारु महिला हुन् । डा. सिन्धुको राजनीतिक चेतना पञ्चायती निरंकुशताविरुद्धको सांस्कृतिक आन्दोलनबाट सुरु भएको हो । प्रगतिशील गीत–संगीतमार्फत आन्दोलनको नेतृत्व गर्ने उनका पिता प्रचण्डबहादुर बुढाथोकीको प्रेरणाले उनले बाल्यकालमै अन्याय,शोषण र विभेदविरुद्ध उभिन सिकिन् ।
गाउँटोल, मेलापात र आन्दोलनका मोर्चाहरूमा जनवादी गीतलाई परिवर्तन र जागरणको हतियार बनाएर जनचेतना फैलाउँदै उनी राजनीतिमा होमिइन् । यसैले संघर्ष नै उनको पहिचान बनेको छ । २०३८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उनले भूमिगत पार्टीका नेताहरूका लागि सन्देश पुर्याउने,संगठन विस्तार गर्ने र ज्यान जोखिममा राखेर आन्दोलनलाई निरन्तरता दिने जिम्मेवारी बहन गरिन् उनले । २०४५ सालमा भूमिगत अवस्थामै कमरेड शेरबहादुर आचार्यसँग वैवाहिक जीवन सुरु गरी गुल्मी, नवलपरासीलगायत जिल्लाहरूमा पार्टी संगठन निर्माणमा निरन्तर खटिएकी उनी पार्टीकी एक समर्पित सिपाही हुन् । २०४६ सालपछि खुला राजनीतिमा आएपछि पनि उनले पद होइन, जनताको भरोसालाई आफ्नो वाटो बनाइन् ।
डा. सिन्धुको राजनीति भाषणमा सीमित छैन; यो गाउँटोलको वास्तविक जीवनसँग गाँसिएको राजनीति हो । महिला, श्रमिक र उत्पीडित वर्गको आवाज बुलन्द गर्न उनले नेपाली महिला आन्दोलन, जनसांस्कृतिक अभियान, सहकारी अभियान चलाइन् । उनले महिला अधिकारको पक्षमा साथै श्रमिक र किसानको पक्षमा काम गरिन् । उनले दलित, आदिवासी र सीमान्तकृत समुदायको हकहितका लागि अभियान चलाउँदै आएकी छिन् । २०७० सालमा नेकपा एमालेको तर्फबाट संविधानसभाको सदस्य बनेकी उनले संविधान निर्माणमा पनि मुख्य भूमिका खेलेकी थिइन् ।
कानुन सही बनाएर जनताको जीवन कसरी बदल्नुपर्छ भन्ने अनुभूति र अभ्यासले खारिएकी नेतृ हुन् उनी । रेडियो नेपालदेखि आधुनिक डिजिटल माध्यमसम्म उनका दर्जनौँ गीत, गजल, लेख र सांस्कृतिक अभियानहरूले समाजमा एउटा क्रान्ति नै गरेको थियो । लैङ्गिक विभेद, सामाजिक कुरीति, सामाजिक शोषणको विरोधमा सशक्त रुपले आवाज उठाउँदै आएकी छिन् ।
उनले राष्ट्रिय स्वाधीनतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छिन् । शोषणमुक्त समाज निर्माण गर्ने,भ्रष्टाचारविरुद्ध अभियान चलाउने, महिला, श्रमिक, दलित,किसान,सीमान्तकृत समुदाय तथा उत्पीडित वर्गको पक्षमा आवाज उठाउने, जनताको सत्ता स्थापनाका लागि काम गर्ने, जिल्लाको विकास निर्माणलाई तीव्रता दिनेजस्ता योजना अघि सारेकी छिन् । उनले संविधानमा लेखिएको भए पनि कतिपय अधिकार मानिसले नपाएकोमा चिन्ता जनाएकी छिन् । उनले संविधानप्रदत्त अधिकार पाउनका लागि पनि अभियान चाल्ने बताइन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा डुबानको समस्या भएको बताइन् । उनले यो विषयलाई पनि आफ्नो प्रमुख एजेण्डामा समेटेकी छिन् । आइटीमैत्री कृषि प्रणाली विकासका लागि पनि उनले योजना बनाएकी छिन् ।
उनले तारा चिन्हमा मतदान गरी आफूलाई जिताउन र न्याय र सामाजिक परिवर्तनको पक्षमा लाग्न सबैलाई आग्रह गरेकी छिन् ।

