मूलपानीमा गोली हानेर लुटपाट गर्ने समूहका दस जना पक्राउ
काठमाडौं,१५ माघ । प्रहरीले बुधबार (माघ १४) राति गोली हानेर नियन्त्रणमा लिएका लुटेराहरूलाई सार्वजनिक गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले गएराति काठमाडौंको मूलपानीमा एकजनालाई गोली हानेर लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूलाई काठमाडौं प्रहरीले बिहीबार (माघ १५) सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रेको भुल्लुका २३ वर्षीय विनय तामाङ, सिन्धुलीका २४ वर्षीय आयन माझी,खोटाङका मसिन राई,सिन्धुलीका सविन माझी,काभ्रेका पेमा तामाङ छन् । पक्राउ पर्ने अन्यमा काभ्रेकै सलोन तामाङ, राजीव भण्डारी, रामेछापका विशाल तामाङ, खोटाङका विदुर विश्वकर्मा, सिन्धुपाल्चोकका फुर्वा तामाङ छन् । पक्राउ परेकामध्ये प्रहरीले विनयलाई गोली हानेर नियन्त्रणमा लिएको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
उनीहरूले समूह नै बनाएर रातिको समयमा पैदलयात्रु तथा व्यवसायीहरूलाई लुट्दै गरेको खुलेपछि पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । उनीहरूले पछिल्लो तीन महिनादेखि संगठित रूपमा लुटपाट गर्न थालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
लुटपाटका मुख्य योजनाकार प्रहरीको गोली लागेका विनय नै भएको एसएसपी थापाले जानकारी दिए । उनीहरूमाथि प्रहरीले डाँका चोरी कसुरमा अनुसन्धान थालेको छ । उनीहरू रातको समयमा तीनवटा मोटरसाइकलमा लुटपाट गर्न हिँड्ने गरेको खुलेको छ ।
प्रहरीले उनीहरूले लुटपाट गर्दै गरेको सीसीटीभी फुटेजसमेत प्राप्त गरेको छ । प्रहरीले उनीहरू चढेको मोटरसाइकलको नम्बरका आधारमा पक्राउ गरेको हो । प्रहरीले लुटपाटका क्रममा प्रयोग गर्ने गरेको ६ वटा मोटरसाइकलसमेत बरामद गरेको छ । उनीहरूले विभिन्न ठाँउमा पुगेर २७ जनामाथि कुटपिट गरेर लुटपाट गरेको खुलेको छ । प्रहरीले उनीहरूको साथबाट लुटपाट गरिएको सुनचाँदीका गरगहनादेखि नगद रुपैयाँ बरामद गरेको छ ।
प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका मुख्य योजनाकार वियन यसअघि समेत २०७९ साल र केही समयअघि समेत डाँका चोरी तथा लुटपाटको कुसरमै पक्राउ परेर छुटेका थिए ।
प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका लुटेराहरूमध्ये पेमा र आयनले दिउँसो ट्याक्सीसमेत चलाउने गरेको खुलेको छ । पेमाले चलाउँदै आएको वाग्मती प्रदेश–०१–००ज ८७६६ नम्बरको ट्याक्सी र बा१२च ७७०१ नम्बरको कारसमेत बरामद गरेको छ ।

