भोलि सुदूरपश्चिम जाँदै बालेन,विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने



काठमाडौं,११ माघ । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) भोलि सुदूरपश्चिम प्रदेश जाने भएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ।

चुनावी मनोनयनका लागि झापा पुगेका बालेन त्यहाँ केही दिन बिताएर हिजो काठमाडौं फर्किएका थिए। झापाको बसाइबाट उनी उत्साहित बनेको बताइन्छ। यद्यपि, त्यहाँ रहँदा उनले प्रयोग गरेको महँगो गाडीलाई लिएर विवाद समेत उत्पन्न भएको थियो। एक व्यवसायीले उपलब्ध गराएको उक्त गाडी बालेनले झापामै छोडेर आएको स्रोतको भनाइ छ।

सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिले उम्मेदवारी दिएका छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका हुन्। यी दुवै निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्दै बालेन सुदूरपश्चिम जान लागेको बुझिएको छ।

सुदूरपश्चिममा केही दिन बिताएपछि बालेन काठमाडौं फर्किने कार्यक्रम छ। फर्किएपछि उनले काठमाडौं र ललितपुरका केही निर्वाचन क्षेत्रमा समेत चुनावी अभियानमा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्