फेरि पक्राउ परे दुर्गा प्रसाईं



पोखरा,५ माघ ।कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएर विवादमा तानिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। ।

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईंलाई सोमबार प्रहरीले पोखराबाट पक्राउ गरेको हो। प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार समेत गरेको थियो ।

कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले सामाजिक सञ्जालमा पनि यो भिडियो पोस्ट गरेका थिए ।

निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारसँग सम्झौतासमेत गरेका प्रसाईंले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेकोसम्म आरोप छ ।

प्रसाइँले पैसा लगानी गरेर सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको अडियोसमेत सार्वजनिक भएको थियो ।

मेडिकल व्यवसायी प्रसाईँले नागरिक बचाउ अभियानका नाममा देशभर कार्यक्रम गर्दै हिँड्ने गरेका थिए भने पछिल्लो समय राजावादी अभियानमा हिँडिरहेका छन् । राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनका नेतृत्व गरेका प्रसाईँ तिन कुने घटनामा पक्राउ परेका थिए ।
कारागारबाट छुटेपछि जेनजी आन्दोलनका बेला पनि प्रसाईंको भूमिकालाई शंकास्पद ढंगले हेरिएको थियो भने उनलाई आन्दोलनको स्टेकहोल्डर्स भन्दै नेपाली सेनाले वार्तामासमेत बोलाएको थियो ।

जेनजी आन्दोलनको फाइदा उठाउन खोजेका प्रसाईँ असफल बनेपछि सुशीला कार्की नेतृत्वको सरकारको विरुद्धमा अभिव्यक्ति दिँदै आइरहेका छन् भने चुनाव बहिस्कार गर्ने भन्दै अभियान चलाइरहेका छन् । पटक पटक पक्राउ पर्दै छुट्दै गरेका प्रसाईंको अभिव्यक्ति र सरकारी डाटा चोरी गर्ने घटनाले उनी पक्राउ पर्दै फेरि प्रहरी हिरासतमा पुगेका छन् ।

निर्वाचन आयोगले उनलाई कारबाहीको दायरामा ल्याउन भन्दै पत्र काटेपछि प्रसाईँको सरकारी टाढा चोरी गर्ने योजना बुनेको अर्को अडियो पनि सार्वजनिक भएको थियो । प्रसाइँलाई काठमाडौं पठाउने तयारी गरेको कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्