पूर्ब डीआईजी खरेलले दिए गगन र विश्वप्रकाशलाई ‘इतिहासका नायक’को संज्ञा



काठमाडौँ,२८ पौष । पूर्वडीआईजी रमेश खरेलले कांग्रेसका युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ‘इतिहासका नायक’को संज्ञा दिँदै उनीहरूको साहसलाई सलाम समेत गरेका छन् ।

नेपाली कांग्रेसको बिशेष महाधिवेशन उद्घाटन सत्र समापनपछि सामाजिक सञ्जालमा लेख्दै खरेलले त्यस्तो प्रतिक्रिया दिएका हुन्। खरेलले लेखेका छन्, ‘महाधिवेशनलाई कमजोर बनाउन र विभिन्न अवरोधहरू सिर्जना गर्न जति नै जोडबल गरिए पनि अन्ततः ती सबै प्रयासहरू विफल भएका छन् । घेराबन्दीका बाबजुद महाधिवेशन सम्पन्न हुनुले पार्टी व्यक्तिवादी स्वेच्छाचारिताले नभई विधान र पद्धतिले चल्छ भन्ने मान्यतालाई चरितार्थ गरिदिएको छ ।’

खरेलले यस प्रक्रियालाई कांग्रेसको आन्तरिक मामिलामा मात्र सीमित नराखी समग्र लोकतान्त्रिक अभ्यासको सबलीकरणको रूपमा अर्थ्याएका छन् । उनको बुझाइमा सुदृढ कांग्रेस हुनु भनेको नै सुदृढ लोकतन्त्रको आधारशिला तयार हुनु हो ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिनको भव्यताले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ । का अनुसार यस महाधिवेशनले भोलि लिने निर्णय वा यसको बिट मार्ने दिशा जे-जस्तो भए तापनि, यसले एउटा महत्त्वपूर्ण सन्देश भने स्थापित गरिसकेको छ ।

यो महाधिवेशनले लोकतन्त्रमा कसैको एकलौटी पेवा चल्दैन भन्ने कुरालाई तथ्यगत रूपमै प्रमाणित गरिदिएको खरेलको भनाई छ । उनका अनुसार पार्टीभित्र आफूबाहेक अरूलाई दास सम्झने र आफ्नो वर्चस्व कायम राख्न चाहने शक्तिहरूले यो विशेष महाधिवेशन रोक्न निकै कसरत गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्