के भन्छन् नेपाल शेर्पा विद्यार्थी संघको नेतृत्व दावी गरेका पेम्बा ग्याल्जेन शेर्पा ?



काठमाडौ,२५ पौष । नेपाल शेर्पा विद्यार्थी संघको १५ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका पेम्बा ग्याल्जेन शेर्पाले वर्तमान राजनीतिक र सामाजिक परिवेशमा विद्यार्थीहरूको आवाजलाई अझ सशक्त,संगठित र प्रभावकारी बनाउँदै
पारदर्शी र उत्तरदायी बनाउंदै शेर्पा विद्यार्थीहरूको शैक्षिक,सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण र प्रवर्द्धन तथा नेतृत्व विकासमार्फत सक्षम र जिम्मेवार पुस्ता निर्माण गर्नु आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन् ।

आगामी माग ३ गते सम्पन्न हुने राष्ट्रिय महाधिवेशनका लागि आफ्ना एजेन्डा र घोषणापत्र सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन्। नेपाल शेर्पा विद्यार्थी सङ्घलाई एकताबद्ध,सशक्त र भविष्यप्रति आशावादी संगठन बनाउने दृढ संकल्प व्यक्त गर्दै उनले भने-‘शेर्पा भाषा, लिपि, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन र शैक्षिक पाठ्यक्रममा शेर्पा समुदायसम्बन्धी सामग्री समावेशका लागि पहल गर्ने छु।’

नेपाल शेर्पा विद्यार्थी सङ्घ शेर्पा समुदायका विद्यार्थीहरूको हक, अधिकार, पहिचान र शैक्षिक उन्नयनका लागि स्थापित एक अग्रणी संगठन भएको उल्लेख गर्दै उनले ‘सचेत,संगठित र सशक्त शेर्पा विद्यार्थी — समावेशी शिक्षा र उज्ज्वल भविष्य’आफ्नो नारा रहेको बताए।

छात्रवृत्ति,फेलोसिप तथा शैक्षिक सहयोग कार्यक्रम विस्तार,दुर्गम क्षेत्रका शेर्पा विद्यार्थीका लागि विशेष शैक्षिक सहजीकरण,उच्च शिक्षा,प्राविधिक र व्यावसायिक तालिममा पहुँच वृद्धि ,राज्यका निकायमा शेर्पा विद्यार्थीको न्यायोचित प्रतिनिधित्वका लागि दबाब,शिक्षा,रोजगारी र अवसरमा हुने विभेदविरुद्ध सशक्त आवाज
आदिवासी जनजाति विद्यार्थी संगठनसँग सहकार्य,डिजिटल प्लेटफर्ममार्फत विद्यार्थी सूचना र सञ्जाल विस्तार,विदेश अध्ययन, रोजगारी र करियर काउन्सेलिङ सहयोग,विपद्, आपतकालीन अवस्थामा विद्यार्थी सहायता कोष स्थापना आफ्नो प्राथमिकतामा रहने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्