कोशी प्रदेशमा फेरिए सबै मन्त्री



काठमाडौँ,२२ पौष । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्मा यसअघि झैं एक जना महिलालाई मात्र राज्यमन्त्री बनाइएको छ भने दलित समुदायको प्रतिनिधित्व शून्य रहेको छ।

२०८१ असार १७ गते कांग्रेस र एमालेबीच सातबुँदे सहमति भएपछि सुरु भएको सत्ता सहयात्रापछि कोशी प्रदेशमा यो दोस्रो पटक मन्त्रिपरिषद् हेरफेर गरिएको हो।

मंगलबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट चार जना मन्त्री र एक जना राज्यमन्त्री तथा एमालेबाट पनि चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका छन्। कांग्रेसले एक जना महिलालाई राज्यमन्त्रीका रूपमा पठाएको भए पनि एमालेले सबै पुरुषलाई मात्र मन्त्रिपरिषद्मा समेटेको छ।

कोशी प्रदेशसभामा कांग्रेसका १० जना र एमालेका १४ जना महिला सांसद रहेका छन्। यद्यपि, नयाँ मन्त्रिपरिषद्मा एक जना पनि दलित मन्त्री छैनन्।

यसअघि कांग्रेस र एमालेले सम्हालेका मन्त्रालयमै दुवै दलले नयाँ मन्त्री नियुक्त गरेका हुन्।

कांग्रेसका प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि उक्त मन्त्रालय कांग्रेसकै भूपेन्द्र राईले सम्हालिरहेका थिए। देउवा समूहका केन्द्रीय सदस्य सुनुवार यसअघि तीन पटक मन्त्री भइसकेका नेता हुन्।

कांग्रेसकै भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री बनेका छन्। विराटनगर महानगरपालिकाका पूर्वमेयर पराजुली कृष्णप्रसाद सिटौला समूहका हुन्। यसअघि यो मन्त्रालय सदानन्द मण्डलले सम्हालिरहेका थिए।

एमालेका झापा क्षेत्रका सांसद तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको मन्त्री बनेका छन्। यसअघि उक्त मन्त्रालय एकराज कार्कीले सम्हाल्दै आएका थिए। अध्यक्ष केपी शर्मा ओली निकट मानिने पाठक केही दिनअघि दिएको अभिव्यक्तिका कारण चर्चामा आएका थिए।

धनकुटाका एमाले सांसद इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीमा नियुक्त भएका छन्। यसअघि उक्त मन्त्रालय रेवतीरमण भण्डारीले सम्हालेका थिए।

एमालेका विदुरकुमार लिंथेप आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बनेका छन्। संखुवासभाका लिंथेप यसअघि एमालेका प्रमुख सचेतक थिए। यो मन्त्रालय यसअघि रामबहादुर मगरको जिम्मेवारीमा थियो।

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी एमालेकै रामप्रसाद महतोले पाएका छन्। यसअघि यो मन्त्रालय पाँचकर्ण राईले सम्हालेका थिए।

यसअघि दुई मन्त्रालय नपाएको कारण सरकारमा सहभागी नभएको कांग्रेसको शेखर कोइराला पक्ष यसपटक एक मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ। कोइराला पक्षका मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री बनेका छन्। उनी मोरङ क्षेत्रका सांसद हुन्।

कांग्रेसका इस्राईल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनी देउवा पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्की निकट मानिन्छन्।

नयाँ मन्त्रिपरिषद्मा दुई जना राज्यमन्त्री छन्। एमालेबाट उमाकान्त गौतम आन्तरिक मामिला तथा कानून मन्त्रालयका राज्यमन्त्री बनेका छन् भने कांग्रेसकी शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री नियुक्त भएकी छन्। चेम्जोङ नै मन्त्रिपरिषद्की एकमात्र महिला सदस्य हुन्।

कांग्रेस र एमाले दुवै दलमा एक–एक जना दलित सांसद रहेका भए पनि मन्त्रिपरिषद्मा उनीहरूको प्रतिनिधित्व हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्