भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको ट्रम्पको दाबी



एजेन्सी,१९ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक सन्देश लेख्दै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष अपरेशनका क्रममा मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देश बाहिर लगिएको उल्लेख गरेका छन्।

यसबारे थप जानकारी दिन उनले फ्लोरिडास्थित मार–ए–लागोमा पत्रकार सम्मेलन गर्ने समेत बताएका छन्।

मादुरोलाई कहाँ लगिएको छ भन्नेबारे ट्रम्पले प्रस्ट पारेका छैनन् । भेनेजुएला सरकारले आफ्ना नागरिकहरूलाई यो ‘आक्रमण’ विरुद्ध
सडकमा उत्रन र राष्ट्रिय रक्षा योजना लागू गर्न आह्वान गरेको छ।

ट्रम्प प्रशासनले मादुरोलाई लागु औषध ओसार पसारको नेतृत्व गरेको आरोप लगाएको छ । मादुरोले लागु औषध कारोबारमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै वासिङ्टनले आफूलाई सत्ताच्युत गर्न खोजिरहेको बताएका छन्।

वासिङ्टनले पछिल्लो समयमा अनौपचारिक रूपमा भेनेजुएलाको हवाई क्षेत्र बन्द गरी थप प्रतिबन्ध लगाएको छ र भेनेजुएलाको तेलले भरिएका ट्याङ्करहरू जफत गर्न आदेश दिएको छ।

अमेरिकी सेनाले सेप्टेम्बर देखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा डुङ्गाहरूमा धेरै आक्रमणहरू गरेको छ, जसलाई वासिङ्टनले लागुऔषध तस्करहरू भनेको छ। अमेरिकी सेनाका अनुसार आक्रमणमा कम्तीमा १०७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्