नुम्बुर हिमालको पहिलो सफल आरोहण : इटालियन, जर्मन र पोल्याण्ड नागरिकको ऐतिहासिक सफलता
दिप खालिङ,६ कार्तिक । सोलुदुधकुण्ड नगरपालिका–१ मा अवस्थित ६,९५९ मिटर अग्लो नुम्बुर हिमाल पहिलोपटक सफलतापूर्वक आरोहण गरिएको छ।

१९ अक्टोबर २०२५ बिहान १०:०३ बजे इटालीका Herve, जर्मनीका Felix, र पोल्याण्डका Adam ले हिमालको शिखरमा सफल आरोहण गर्नुभएको हो।
यसअघि नेपाल सरकारले सो हिमालमा आरोहण गर्न निषेध लगाएको थियो। तर हाल स्थानीय सरकारको पहलमा अनुमति खुलेसँगै यो पहिलो सफल आरोहण भएको हो।
नुम्बुर हिमालको फेदीमा अवस्थित दुधकुण्ड ताल बौद्ध, किरात मुन्धुम र हिन्दु धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो। प्रत्येक वर्ष जनैपूर्णिमाका दिन यहाँ भव्य मेला लाग्ने गर्दछ, जसले हजारौं भक्तजन र पर्यटकलाई आकर्षित गर्दछ।
सोलुदुधकुण्ड नगरपालिका–१ का वडा अध्यक्ष छोङ्बा शेर्पाले आरोहण टोलीसँग भेट गरी सफल आरोहणको शुभकामना र बधाई व्यक्त गर्नुभएको छ। उहाँले यो उपलब्धिले सोलुखुम्बुको पर्यटन क्षेत्रमा नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, दुधकुण्ड इन तथा एभरेष्ट भ्यु होटलका सञ्चालक फुर्बा शेर्पाले यो सफल आरोहणले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने बताउनुभयो। उहाँका अनुसार नुम्बुर क्षेत्रका प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र आरोहण सम्भावनाले यस क्षेत्रलाई अब अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको छ।

