विपी राजमार्ग तीन दिनका लागि बन्द,हेटौंडा-काठमाडौं जोड्ने सबै सडकमा यातायात सञ्चालनमा रोक
काठमाडौं,१८ असोज । सरकारले विपी राजमार्ग आगामी तीन दिनको लागि बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेप्लाञ्चोकले शनिबार अपरान्ह सार्वजनिक सूचना जारी गर्दै आजदेखि सोमबारसम्मको लागि उक्त राजमार्ग बन्द गर्ने निर्णय गरेको हो । बर्षाका कारण बाढी पहिरोबाट यात्रु र सवारी साधनलाई हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रे भञ्ज्याङ भकुण्डेवेशी सिन्धुली सडक खण्ड बन्द गर्ने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
वर्षा निरन्तर परिरहेपछि हेटौंडा र काठमाडौं जोड्ने सबै मुख्य तथा वैकल्पिक सडकहरूबाट सवारी सञ्चालनमा रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सूचना जारी गर्दै सबै सडक तीन दिनसम्म बन्द रहने जानकारी दिएको हो । भारी वर्षाको कारण बाढी र पहिरोको जोमिख बढी रहेकोले विपद् जोखिम न्युनिकरणका लागि १८ गतेदेखि २० गतेसम्म हेटौंडा–काठमाडौं जोड्ने सबै सडक (अत्यावश्यक बाहेकका सबै सवारीसाधन) पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।
हेटौंडा र काठमाडौंलाई जोड्न मुख्य चार वटा सडकहरू छन् । देशकै पुरानो हेटौंडा–नौबिसे खण्डको त्रिभुवन राजपथ, ललितपुरको सातदोबाटो जोडिने कान्तिलोकपथ, कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडक हालको अवस्थामा उपयुक्त मार्ग हो । त्रिभुवन राजपथ बाहेकका सडकबाट दैनिक १ हजार भन्दा माथि सवारीसाधन सञ्चालन हुने गरेका छन् ।
मकवानपुर प्रशासनले सडक बन्द गरेसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुरका मातहका कार्यालय सक्रिय भएर मुख्य तथा वैकल्पिक सबै मार्गबाट राजधानी भित्रिन खोज्ने सवारीसाधनलाई धमाधम फिर्ता पठाउन थालेका छन् । त्रिभुवन राजमार्गअन्तर्गत हेटौंडा–१ चौकिटोलबाट दुई, चार र छ पाङ्ग्रे सबै प्रकारका सवारीसाधनलाई फर्काउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

