सम्भावित विपद् व्यवस्थापनमा स्वयंसेवकका रूपमा सक्रिय रहन कार्यकर्तालाई कांग्रेसको आग्रह



काठमाडौं,१७ असोज । नेपाली कांग्रेसले असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा प्रणालीले ठूलो जोखिम निम्त्याउने संभावना भएकाले समयमै तयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्ना सबै तहका कार्यकर्तासहित सरकार, राजनीतिक दल र नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्। सूचनामा आफ्ना कार्यकर्ताहरुलाई आफू कार्यरत क्षेत्रमा विपद् व्यवस्थापनमा स्वयंसेवकका रूपमा सक्रिय रहन आह्वान समेत गरिएको छ ।

पौडेलले गत वर्ष असोज १२ मा जनधनको ठूलो क्षति भएको र यस वर्ष भदौ २३-२४ को घटनाले देशलाई अझै मर्माहत बनाएको स्मरण गर्दै पुनः ठूलो विपद् दोहोरिन सक्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा विपद् व्यवस्थापनका लागि सात बुँदे सतर्कता सुझाइएको छ । त्यसअनुसार यात्रुहरुलाई समयमै सूचना दिने, सरकारका निर्देशन पालना गर्ने, जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थलतर्फ सार्ने, पहाडी सडक मार्ग आवश्यक अवधिसम्मका लागि बन्द गर्ने, यात्रु तथा स्थानीयलाई सहजताका लागि स्थानीय तह र स्वयंसेवीलाई सक्रिय गर्ने, साधन–स्रोत तयारी अवस्थामा राख्ने र जोखिम क्षेत्रमा अन्य गतिविधि केही दिनका लागि स्थगित गर्ने जस्ता उपायहरुमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्