बर्तमान सरकार ‘तोडफोड र आगजनी’ को उपज : एमाले अध्यक्ष ओली



काठमाडौं,११ असोज । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘तोडफोड र आगजनी’ को उपज भएको आरोप लगाएका छन् ।

दशैंको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको खुला कार्यक्रममा वर्तमान सरकारको तीव्र आलोचना गर्दै ओलीले
अहिलेको सरकारले केही नेताहरूको पासपोर्ट रोक्ने तयारी गरिरहेको भन्दै प्रश्न गरे, ‘अहिले सुन्दैछु, सरकार पासपोर्ट रोक्ने कुरा गर्दैछ । के ठानेको छ त्यो सरकारले ? यो हा–हु गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?

ओलीले आफूहरूले कुनै पनि षड्यन्त्र नगर्ने स्पष्ट पार्दै छलछाम र षड्यन्त्र होइन, पारदर्शी ढंगले अगाडि बढ्ने बताए ।

उनले भने, ‘हामी कुनै छलछाम गर्दैनौं । छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढंगले अगाडि बढ्छौं । जनतालाई सेवा–सुविधा दिन, शान्ति–सुरक्षा कायम गर्न र कानुनी राज्यको स्थापना गर्न हाम्रो नीति स्पष्ट छ ।’

भ्रष्टाचारको आरोपप्रति पनि ओलीले तीव्र प्रतिक्रिया जनाए । उनले भने,‘भ्रष्टाचार ग¥यो भनेर हल्ला गरेर हुँदैन । कहाँ, केमा ग¥यो, केमा घुस खायो ? यस्ता कुरा अफवाह मात्र हुन् ।’

ओलीले देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूले नै लिएको दोहो¥याउँदै संवैधानिक, लोकतान्त्रिक, मूलधारमा देशलाई ल्याउने बताए । उनले भने, ‘फेरिपनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक, मूलधारमा ल्याउँछौं। देशलाई फेरि पनि सुशासनमा ल्याउँछौं ।’

ओलीले देश असुरक्षित बनाउने र आतंक फैलाएर सत्तामा पुग्नेहरू किन नै सुरक्षा दिने नसकेको भन्दै प्रश्न गरे । उनले भने, ‘सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ कि पर्दैन ? असुरक्षामा देश हाल्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा नदिने यो त सरासर अन्याय हो ।’

प्रतिक्रिया दिनुहोस्