सरकारले गरेको नागरिक हत्याले मर्माहत बनायो भन्दै शेखरले भने – ‘ यो क्रुरता सभ्य समाजले कल्पना गर्न सक्दैन’



काठमाडौं,२३ भदौ । चीन भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन जी पुस्ताको आन्दोलन माथि सरकारले गरेको दमन सभ्य समाजले परिकल्पना पनि गर्न नसक्ने प्रतिक्रिया व्यक्त गरेका छन् ।

सोमबार जेन जी हरुलाई सम्बोधन गर्दै कोइरालाले सरकारले गरेको नागरिक हत्याले मर्माहत बनाएको भन्दै त्यसका लागि श्रद्धाञ्जलीका शब्द पर्याप्त नहुने भन्दै सामाजिक सञ्जालमा लेखेका छन्-“जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्याार्थीमाथि बर्बरता ढंगबाट गोली प्रहार गरेको छ । त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन ।”

सरकारले गरेको नागरिक हत्याले मर्माहत बनाएको भन्दै त्यसका लागि श्रद्धाञ्जलीका शब्द पर्याप्त नहुने बताएका छन् । आन्दोलनका माग समय सापेक्ष रहेको भन्दै आफू पनि साथमा रहने वचन दिएका छन् । “प्रियजनहरूको हत्याले मलाई मर्माहत बनाएको छ । श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपूरणीय क्षतिमा मलम लगाउन सक्दैन,” उनले भनेका छन्, “यस पीडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरूसँगै छु र रहिरहनेछु । तपाईंहरूका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवादभन्दा अरु के होला र ?”

देशबाट भ्रष्टाचार निर्मुल हुनैपर्ने भन्दै भ्रष्टाचारविरुद्धको आवाज दमन गरेसँगै सरकारको औचित्य समापत भएको बताएका छन् । “आजबाट वर्तमान सरकारको औचित्य पूरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधिसम्मत समाधान खोजौँ,” डा. शेखरले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्