छिट्टै राष्ट्रिय प्रशारणमा जोडिंदै मध्य भोटेकोशीबाट उत्पादित बिजुली
काठमाडौँ,१९ भदौ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत आयोजना मुख्य प्रवर्द्दक रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।

चरम राजनीतिक हस्तक्षेप, स्थानीय अवरोध, आयोजनाको आन्तरिक प्रशासनिक समस्या, कोभिड, बाढी–पहिरो, भूकम्प, भारतीय सीमामा भएको अवरोधलगायतका कारणले निरन्तर निर्माणमा ढिलाई भएका कारण सिन्धुपाल्चोक जिल्लामा रहेको सो आयोजनाले सुरु भएको १४ बर्ष पछि परीक्षण उत्पादन सुरु गरेको हो ।अब केही दिन परीक्षण गरेर विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने र त्यसपछि आम्दानी राष्ट्रिय प्रशारण लाइनमा जोडेपछि आम्दानी सुरु हुने भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीले बताए ।
शिबाकोटीका अनुसार प्राधिकरणले निर्माण गरिरहेको बाह्रबिसे सबस्टेशनको काम पूरा नभएकाले उत्पादित विद्युत करिव ४० किमि ट्रान्समिसन लाइनमार्फत नयाँ खिम्ती सबस्टेशनमा पुर्याइएको छ । आयोजनाका तीन वटा टरबाइनमध्ये एउटा सञ्चालन गरेर परीक्षण उत्पादन सुरु गरिएको हो । बाह्रबिसे सबस्टेशन तयार नभएकाले गत सातादेखि खिम्ती सबस्टेशनले जाँच गरेको विद्युत मध्यभोटेकोशीको पावर हाउससम्म जोडिएको लाइनमा परीक्षण गरिँदै आएको थियो । ट्रान्समिशन लाइनको परीक्षण सफल भएपछि विद्युतको परीक्षण सुरु गरिएको जानकारी उनले दिए ।
उनका अनुसार नयाँ खिम्तीको ४०० केभी पावरको ट्रान्समिशन लाइनमा मध्यभोटेकोशीको २२० केभी मात्र पावर पठाउने व्यवस्थापन मिलाइएको छ । उत्पादित विद्युत ढल्केबर सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोड्ने योजना रहेको छ । नगरपालिकाको जम्बुमा पावर हाउस रहेको उक्त आयोजनाको सुरुङ ७.५ किमि रहेको छ ।
गत वर्ष सुरुङमा पानी पठाउँदा सुरुङ चुहिएको थियो । अहिले आयोजनाका सबै संरचनाको परीक्षण दुरुस्त बनाएपछि उत्पादन सुरु गरिएको हो । ‘रन अफ द रिभर’मा आधारित उक्त आयोजनाको लागत साढे २२ अर्ब लाग्ने अनुमान छ । सुरु गर्ने समयमा १२ अर्ब ३३ करोड २८ लाख लगत अनुमान गरिएको उक्त आयोजना तोकिएको समयमा निर्माण गर्न नसक्दा आयोजनाले ऋणको ब्याज मात्र दैनिक ५० लाखभन्दा बढी तिरिरहेको छ ।
सन् २०१३ मा सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेर कम्पनीका तत्कालिन कार्यकारी अधिकृत कुलमान घिसिङले आयोजना अघि बढाएका थिए ।

