धरान एकता समाजको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न, पेग एण्ड बुल वाइन सार्वजनिक
ईशा अधिकारी,काठमाडौँ,१० भदौ। धरान एकता समाजको आयोजनामा तीज विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

नेपाली महिलाहरूको महान पर्व तीजको अवसर पारेर समाजले काठमाडौँमा शनिबार आयोजना गरेको उक्त कार्यक्रममा महिलाहरुले दर खानुका साथै विभिन्न सांस्कृतिक प्रस्तुती,नृत्य तथा गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि पूर्व-उपप्रधानमन्त्री सुजाता कोइराला रहेकी थिए भने बिशेष अतिथिहरुमा मंगलादेवी ट्रस्टकि अध्यक्ष श्रीजना सिंह,पूर्व बनमन्त्री शंकर भण्डारी,बागमती प्रेदेशका पूर्वमन्त्री हरि प्रभा खड्गी ,कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ,प्रतिनिधिसभा सदस्य डिक बहादुर लिम्बु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सम्पुर्ण संयोजन समाजका संरक्षक ब्यबसायी एब समाजसेवी सन्दिप श्रेष्ठले गरेको हुन्। यसअघि पनि समाजले बिभिन्न कार्यक्रम गर्दै आएको थियो।
यस पटकको कार्यक्रमकै विशेष आकर्षणको रुपमा पेग एण्ड बुल वाइन ६ प्रकारको स्वादमा औपचारिक रुपमा सार्वजनिक गरिएको थियो। वाइन सार्वजनिक कार्यक्रममा अस्ट्रेलियाबाट आएका टोनी र डेबिड थिए भने उनीहरुलाई नेपाल ल्याउन सरोज पुरी र सुजन केसीले भूमिका खेलेका थिए। उक्त कार्यक्रममा समाजका पदाधिकारी, स्थानीय अगुवा व्यक्तित्वहरू,कलाकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति उल्लेख्य थियो।
कार्यक्रममा उपस्थित महिलाहरूले परम्परागत तीज गीत गाउँदै, हरियो र रातो पोशाकमा सजिएर विभिन्न नृत्य प्रस्तुत गरे। ‘दार खाने’ सांस्कृतिक परम्परा अनुसार स्वादिष्ट परिकारहरूको व्यवस्था गरिएको थियो। सहभागीहरूले दर तथा तीजको गीत–नृत्यमा रमाइलो गर्दै एक–अर्कासँग भेटघाट, अनुभव आदानप्रदान गर्ने अवसर समेत पाएका थिए।
धरान एकता समाजका समाजका संस्थापक संरक्षक सन्दिप श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने -“तीज पर्व केवल महिलाको चाड मात्र होइन, एकता, सहकार्य र सामाजिक भावनालाई प्रगाढ बनाउन सक्ने महत्वपूर्ण अवसर पनि हो। यस पर्वमार्फत हामीले सांस्कृतिक जगेर्ना गर्नुपर्छ।’
संरक्षक श्रेष्ठले सांस्कृतिक माहोल,महिला दिदीबहिनीहरुको तीजको रमाइलो, र नयाँ स्वादको वाइन सार्वजनिकसँगै कार्यक्रम अझै विशेष बनेको र निकट भबिष्यमै नेपालमा उक्त वाइनको आधिकारिक डिलर खोल्ने जानकारी दिए।
कार्यक्रममा समाजका महासचिव साजन बिकले संस्थाले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रम र गतिविधिबारे प्रकाश पारेको सो कार्यक्रमको सञ्चालन चन्द्रकला तामाङले गरेकी थिइन्।समाजका अध्यक्ष सन्नी श्रेष्ठ हुन्।

