सोलु दुधकुण्ड स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा जिल्लाकै उत्कृष्ट
सोलुखुम्बु , ७ भदौ । सोलुदुधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा सोलुखुम्बु जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार सार्बजनिक गरेको गुणस्तर परीक्षण पश्चात कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजामा जिल्लाका अन्य ७ स्थानीय तहलाई पछि पार्दै सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको हो।
स्थानीय तहले संस्थागत संरचना र क्षमता विकासको अवस्था, पारदर्शिता, जवाफदेहिता, बेरुजुको अवस्था र सुशासनको अवस्थाका आधारमा आफ्नो मूल्यांकन गर्ने गरी विभिन्न इन्डिकेटर (सूचक) का आधारमा गरिएको स्वमूल्याङ्कनको अन्तिम नतिजामा यस बर्ष सो नगरपालिकाले जिल्लाका अन्य स्थानीय तहमध्ये सबैभन्दा बढी ८४.५० अंक प्राप्त गरेको छ । सोलुदुधकुण्ड पछि जिल्लाको लिखुपिकेले ७९.७५ र नेचासल्यान गाउँपालिकाले ७९.२५ अंक प्राप्त गरेका छन् ।
यसैगरी, थुलुङ दुधकोशी गाउँपालिकाले ७९.००,खुम्बु पासाङ ल्हामू गाउँपालिकाले ७८.००,माप्यदुधकोशी गाउँपालिकाले ६७.५०, महाकुलुङ ५८.७५ र सोताङले क्रमशः ५२.२५ अंक ल्याएका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा जिल्लाकै उत्कृष्ट बन्न सफल सोलु दुधकुण्ड नगरपालिका यस अघि कार्यसम्पादन मूल्यांकनमा पनि उत्कृष्ट बनेको थियो।सोलु दुधकुण्ड गत आर्थिक बर्षमा बेरुजु कम गर्ने स्थानीय तह मध्ये देशकै दोश्रो र कोशी प्रदेशकै पहिलो स्थानीय तह पनि हो।

