शिक्षक महासंघले घोषणा गरेको आन्दोलन विरुद्ध रिट, निजी विद्यालय सञ्चालक भोलि देखि सडकमा उत्रिंदै



काठमाडौं,४ भदौ । नेपाल शिक्षक महासंघले भदौ दोस्रो साताबाट गरेकाे आन्दोलनको घोषणाविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको छ ।
कानून अध्ययनरत विद्यार्थीहरु अर्जुन शाह र राहुल साहोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उनीहरुले नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षक महासंघलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।

उनीहरुले संविधान प्रदत्त बालबालिकाको शिक्षाको अधिकार, संविधानको धारा र बालबालिकाको हक संरक्षणसम्बन्धी व्यवस्थामा रहेर रिट दिएको उल्लेख गरेका छन् । उनीहरुले शिक्षक महासंघको आन्दोलनले विद्यार्थीहरुको पठनपाठन ठप्प हुने हुँदा उनीहरुको अधिकार खोसिने भन्दै त्यसो गर्नलाई रोक्न निवेदन दिएको उल्लेख गरेका छन् ।

आफ्ना मागहरु पूरा नगरेको भन्दै शिक्षक महासंघले भदौको दोस्रो साताबाट आन्दोलन गर्ने घोषणा गरेको छ ।

उता,शिक्षा विधेयकमा पाँचबुँदे माग राख्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन् । नेशनल प्याब्सन र प्याब्सनले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै भोलि (बिहीबार)देखि सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

सङ्घीय संसदबाट पारित गर्न लागिएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा आफनो मागहरू सम्बोधन नभएपछि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना आएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्