सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूमि आयोगको नेतृत्वलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ,२७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।

आयोगको वार्षिक समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरुलाई अबको दुुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिनुुभयो । “यो आयोग काम नगर्नका लागि वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन । काम गर्नका लागि,परिणाम निकाल्नका लागि र लालपूर्जाबिहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो ।’
प्रधानमन्त्री ओलीले भन्नुुभयो, “भूूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुुपर्छ । त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा कानुन संशोधन आवश्यक भएमा हामी गर्छाैैँ । मुलुकको विशेष परिस्थितिमा दुुई ठुला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्कका साथ २०८४ सम्म जान्छ । हामी टालाटुली बाटुली,कति राम्री पुतली भनेजस्तो गरेर के के भेला पारेर सरकार बनाउने पक्षमा छैनौँ । यस्तो स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै दुुविधा हुँदैन र हुन दिइँर्दैन ।’’
उहाँले अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएकाले त्यसबाट बचेर बदनाम नहुने गरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रह गर्नुुभयो ।

