नेपाली कांग्रेस सोलुखुम्बुले भन्यो- ‘तत्काल उपत्यकामा आधिकारिक कुनै कार्यक्रम छैन’
सोलुखुम्बु,२७ साउन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले काठमाडौं उपत्यकामा आधिकारिक रूपमा पार्टीको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै कुनै किसिमको भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस,संगठन विभाग सोलुखुम्बुले हालै काठमाडौंमा ‘नेपाली कांग्रेसको वर्तमान कार्यभार’ बिषयक विमर्श कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको उल्लेख गर्दै मंगलबार जिल्ला कार्यसमिति सभापति नाम्गेल जाङ्बु शेर्पाले एक बिज्ञप्ति जारी गर्दै सो बाहेक हाल काठमाडौं उपत्यकामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले आधिकारिक रूपमा कुनै कार्यक्रम तय नगरेको स्पष्ट गरेका हुन्।
केही व्यक्तिहरुले नेपाली कांग्रेस जिल्ला कार्यसमितिको हवाला दिदै संगठनको स्वीकृति बेगर,पार्टी नीति,विधि र विधान विपरित नेपाली कांग्रेसको नाम दुरुपयोग गरि कथित कार्यक्रम भनि सूचना जारी गरेकोप्रति नेपाली कांग्रेस सोलुखुम्बुको गम्भीर ध्यानाकर्षण जनाउँदै सभापति शेर्पाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ-‘पार्टीको आधिकारिक संरचना,निर्णय प्रक्रिया र सांगठनिक नीतिलाई बेवास्ता गर्दै केही व्यक्ति-विशेषले गरेको उक्त कार्यक्रमको उद्देश्य स्पष्ट रूपमा पार्टी कार्यकर्तालाई विभाजित गर्नु, पार्टी नेतृत्वप्रति अविश्वास फैलाउनु र अनुशासनहीन वातावरण सिर्जना गर्नु बाहेक अरु केहि होइन।’
केहि ब्यक्तिहरुले कार्यकर्ताबीच अनावश्यक भ्रम सिर्जना गर्ने,पार्टीभित्र गुटबन्दी र विवाद चर्काउने साथै दीर्घकालीन पार्टी एकतालाई कमजोर पार्ने दुषित मानसिकता झल्काएको आरोप लगाउँदै सभापति शेर्पाले बिज्ञप्तिमा पार्टी अनुशासन,सांगठनिक एकता र नीतिगत स्पष्टतालाई अस्वीकार गर्दै एकल रूपमा कार्यकर्ता जम्मा गरी व्यक्तिगत आकांक्षा पुर्ति गर्ने नाउँमा पार्टी एकतालाई कमजोर बनाउने गतिविधि स्वीकार्य हुन नसक्ने उल्लेख गरेका छन्।
उनले पार्टीका सम्पूर्ण नेता-कार्यकर्ता र शुभेच्छुकहरूलाई यस्ता अवैध गतिविधि र कुन्ठाग्रस्त मानसिकताबाट सचेत रहन आग्रह गर्दै पार्टीले आवश्यक छानबिन गरी यस्ता कार्यको मूल्याङ्कन गर्नेछ र आवश्यक परेमा अनुशासनको कारबाही समेत अगाडि बढाउने चेतावनी दिएका छन् ।

