नेता कार्यकर्तालाई एकीकृत समाजबादीले भन्यो-‘पार्टीको आधिकारिक धारणासँग बाझिने कुरा नगर्नु’



काठमाडौं,२७ साउन । अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मतभेद बढेर पार्टीमा तीब्र ध्रुवीकरण सुरु भएपछि नेकपा एकीकृत समाजबादीको केन्द्रीय अनुशासन आयोगले पार्टीको आधिकारिक धारणासँग बाझिने कुनै पनि कुरा सार्वजनिक रुपमा गरे कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगले पार्टीको आधिकारिक धारणासँग बाझिने अभिव्यक्ति दिने नेता-कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिँदै बिज्ञप्तिमा भनेको छ- ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) जनवादी केन्द्रीयताको लेनिनबादी संगठनात्मक सिद्धान्त र त्यसको आधारमा तयार गरिएको पार्टी विधान अनुसार चल्ने अनुशासित कम्युनिष्ट पार्टी हो। तर, यो कुरालाई कतिपय जिम्मेवार कमरेडहरुले नै उलंघन गर्ने प्रवृत्ति विगत केही समय यता एकपछि अर्कोगरी देखापरेकोतर्फ पार्टी केन्द्रीय अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’ अनुशासन आयोग शिबबहादुर देउजाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमा आफ्ना निजी विचार र सुझावहरु राख्ने विधि र स्थानहरु छन् भन्ने कुराको हेक्का राख्दै पार्टीको आधिकारिक धारणासँग बाझिने कुनै पनि कुरा सार्वजनिक रुपले नबोल्न, नलेख्न सम्बन्धित सबै कमरेडहरुको ध्यानाकर्षण गरिन्छ।’

आयोगले सार्वजनिक संचार माध्यम वा भेला, कार्यक्रमहरुमा पार्टीबाट निर्णय नभएका आफ्ना निजी विचारहरु कुनै पनि बाहनामा राखेर अराजक शैलीको अवलम्बन गरी कार्यकर्ता र जनता पंक्तिमा भ्रम र निराशा पैदा गराउने काम नगर्न नगराउन माथिदेखि तलसम्मका सबै नेताहरुलाई आयोग निर्देशन दिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रवृत्ति पुनः दोहोर्याउने कमरेडहरुमाथि पार्टीको विधान अनुसार अनुशासनको कारबाही प्रकृया अघि बढाइने कुरातर्फ पनि सचेत गराइन्छ।’

प्रतिक्रिया दिनुहोस्