सोलुदुधकुण्डलाई महालेखापरिक्षक कार्यालयको प्रशंसापत्र
सोलुखुम्बु,२२ साउन। जिल्लाकै एकमात्र नगरपालिका सोलु दुधकुण्डलाई महालेखापरिक्षकको कार्यालयले प्रशंसापत्र प्रदान गरेको छ ।

मुलुक भरकै ७५३ स्थानीय तहमध्ये बेरुजु कम गर्ने दोश्रो स्थानीय तह र कोशी प्रदेशकै पहिलो बन्न सफल भएका कारण सो नगरपालिकालाई महालेखा परिक्षकको कार्यालयले प्रशंसापत्र प्रदान गरेको हो।आर्थिक वर्ष २०८०र८१ को कारोबारको लेखा परीक्षणबाट सबैभन्दा कम बेरुजुमा सोलु दुधकुण्डले नेपालकै दोस्रो र कोशी प्रदेशमा पहिलो स्थान ओगट्न सफल भएको थियो।
महालेखापरीक्षक तोयम राय,नायब महालेखापरीक्षक बालकृष्ण थापा र उपमहालेखापरीक्षक पदमराज पौडेलले हस्ताक्षर गर्नुभएको प्रशंसापत्रमा भनिएको छ,’आर्थिक वर्ष २०८०।८१ को कारोबारको लेखापरीक्षणबाट कायम कुल बेरुजु रु.१,२१,८००।- (लेखापरीक्षण अंकको ०.०१ प्रतिशत) रहेको एवम् सम्परीक्षण रु.५,७५,७२५। गरी त्यस पालिकाको कुल अद्यावधिक बेरुजुमा समेत कमी ल्याउनु भएकोले प्रशंसा-पत्र प्रदान गरिएको छ ।’
कार्यालयले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व प्रवर्धन एवं पारदर्शिता कायम गराउन आगामी दिनमा सोलु दुधकुण्ड नगरपालिकाको योगदान उल्लेख्य रहने विश्वास समेत व्यक्त गरेको छ।
नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले महालेखा परीक्षकको कार्यालयले प्रदान गरेको प्रशंसापत्रले आगामी दिनमा नगरपालिकामा आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम राख्न थप उर्जा मिलेको प्रतिक्रिया दिएका छन् ।

