६ बर्षीय छोरासहित आमा बेपत्ता भएको आशंकामा कालीगण्डकीमा सशस्त्र प्रहरीद्वारा खोजी कार्य सुरु



काठमाडौँ,२२ साउन । स्याङ्जास्थित कालीगण्डकी नदीमा आमा-छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीले खोजी थालेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ विर्घा निवासी २७ वर्षीया श्यामकला पाण्डे र उनका छोरा ६ वर्षीय अर्पित पाण्डे बुधबार साँझदेखि कालीगण्डकी नदीमा हराएको संकेत प्राप्त भएको हो।

‘गल्याङ नगरपालिका-५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतीक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेका छन्’, डीएसपी थापाले भने, ‘उक्त सामान उनीहरूको रहेको बुझिन आएको छ।’

उनीहरू परिवारको सम्पर्कमा समेत नरहेकाले कालीगण्डकी नदीमा बेपत्ता भएको हुनसक्ने आशंकामा बिहीबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जाबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुरक्षाफौज खोजीमा लागेको उनले जानकारी दिए।

सहप्रवक्ता थापाका अनुसार उनीहरूको खोजीका लागि पोखराबाट गोताखोर समेत लैजाने तयारी भएको छ।

प्रतिक्रिया दिनुहोस्