विभिन्न अपराधमा संलग्न चारजना पक्राउ
काठमाडौं,२१ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मंगलबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर,ललितपुर महानगरपालिका-१५ बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ३६ वर्षीय नर बहादुर बुढाथोकी र काठमाडौं टोखा नगरपालिका-२ बस्ने पाँचथर फिदिम नगरपालिका-१ घर भएका ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।
पक्राउ परेका मध्ये नर बहादुरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र उमेशले २ जना पीडितहरूबाट ११ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नर बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट र उमेशलाई टोखा नगरपालिका-२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यसैबीच,पर्सा प्रहरीले अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा मंगलबार नै दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१३ राधेमाईस्थित नेक मोटरसाईकल वर्कशपका संचालक बहुदरमाई नगरपालिका-२ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कशपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी रहेका छन् । प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट पक्राउ गरेको हो।
उनीहरूले पीडितलाई अपहरण गरी गणेश होटल एण्ड लजमा लगी २०८२ वैशाख २० गते जबरजस्ती करणी गर्नुका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा गत वैशाख २३ गते बिहान छाडी फरार भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

