सोलुदुधकुण्डले काठमाडौंमा सेवा शिबिर सञ्चालन गर्दा जोगियो नागरिकको करोडौं खर्च



काठमाडौं,१३ साउन । सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डले काठमाडौंमा सञ्चालन गरेको एकीकृत सेवा शिबिरको समय एक दिन थप गरेको छ ।

नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले आइतबार उद्घाटन गरेपछि सुरु भएको तीन दिने शिबिरको समय औपचारिक रूपमा मंगलबार सकिए पनि सेवाग्राहीको चाप बढेपछि बुधबार एक दिनका लागि
समय थप गरिएको हो।

सोलु दुधकुण्ड नगरपालिका स्थायी ठेगाना भएर विभिन्न कामको सिलसिलामा राजधानी काठमाडौंमा बसोबासरत सर्बसाधारणलाई सहज सेवा पुर्‍याउने अभिप्रायले सञ्चालन गरिएको एकीकृत सो शिबिरबाट मंगलबारसम्म २ हजार ८ सय ६९ जना भन्दा बढीले सेवा लिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए।पूर्ब घोषित तीन दिनको समयमा सबै सेवाग्राहीगरुको काम सम्पन्न नभएपछि उनीहरुको सुविधालाई दृष्टिगत गर्दै बुधबार थप एक दिन समय बढाईको उनको भनाई छ।

‘कोहि रोजगारी गरि रहनुएको छ,कोही बिमारका कारण यहाँ बस्नु भएको छ,कोही अध्ययनको सिलसिलामा हुनुहुन्छ,बर्षाको समय आवतजावतमा हुने कठिनाई,समय र खर्चको हिसाब गरेर किन वहाँहरुलाई सहज सेवा उपलब्ध नगराउने भन्ने छलफल गरेर नगर कार्यपालिकाको निर्णय अनुसार हामीले काठमाडौंमा एकीकृत सेवा शिविर सञ्चालन गरेका हौं’ नगर प्रमुख शेर्पाले भन्नुभयो-‘नगरपालिकाका ११ वटै वडाले एकै थलोबाट अत्यावश्यक सेवा प्रवाह गर्दा नागरिकहरुले व्यक्त गर्नु भएको खुसीले हामी उत्साहित भएका छौँ।

रामनगर पार्टी प्यालेस,कपन रामहिटीमा शिबिर सुरु भएको पहिलो दिन आइतबार नौ सय,दोश्रो दिन सोमबार एक हजार ८६ र तेस्रो दिन मंगलबार आठ सय ८३ जनाले सेवा लिएका थिए। सेवा लिएका सेवाग्राहीहरुले नगरपालिकाको नेतृत्वको खुलेर प्रशंसा गरिरहेका छन्। नेतृत्वको निर्णय र नगरबासीहरुप्रति देखाएको सदासयताले आफुहरुको समय र खर्च दुबै बचत भएको उनीहरुको भनाई छ।

हुन पनि यतिबेला बाढी पहिरोका कारण जिल्लासम्म आवतजावत गर्न धेरै कठिनाई छ।त्यसमाथि समय उत्तिकै लाग्छ । खर्चकै हिसाब गर्ने हो भने पनि एक ब्यक्तिलाई २० हजारले पनि पुग्दैन । यो कुरालाई दृष्टिगत गरेर नगरपालिकाले काठमाडौंमा
सेवा शिविर सञ्चालन गर्दा सेवा लिने सेवाग्राहीहरुको संख्या जोड्दा प्रति ब्यक्ती खर्चका हिसाबले ६ करोड रुपैयाँ भन्दा बढी रुपैयाँ बचत भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पाले बताए ।

एकीकृत सेवा शिबिरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भुमि कर संकलन,जन्म मृत्यु दर्ता, बसाई सराई, राष्ट्रिय परिचय पत्र वितरण लगायतका सेवा प्रवाह गरिएको शेर्पाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्