सोलु दुधकुण्डको बिकास देख्न नचाहनेहरु हामीलाई निरुत्साहित गर्न खोजिरहेका छन् : नगरप्रमुख शेर्पा



काठमाडौं,११ साउन ।सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिकाले काठमाडौलाई कर्मथलो बनाएर बसेका नगरबासीहरुलाई सहज सेवा दिने उद्देश्यले एकीकृत सेवा शिबिर सुरु गरेको छ ।

मौसम, बर्षा र बाढी पहिरोको कारण काठमाडौं-सोलुखुम्बु आवत जावतको समस्यालाई दृष्टिगत गरी काठमाडौंको रामनगर पार्टी प्यालेस कपन रामहिटीमा सुरु गरिएको सो शिबिरको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले आईतवार उद्घाटन गरे। नगरपालिकाको आयोजनामा ११ वटै वडाले एकै थलोमा एकीकृत सेवा प्रवाह गर्ने उद्देश्यले सुरु तीनदिने सो शिबिरमा राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता नवीकरण,तिरो सम्बन्धी सेवा,जन्म दर्ता मृत्यु दर्ता,नाता प्रमाणिकरण,बसाइँ सराइ र अन्य विभिन्न प्रकारका पञ्जीकरणसम्बन्धी सेवाहरू प्रदान गरिने उद्घाटन कार्यक्रममा जानकारी गराईएको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शेर्पाले विभिन्न पेशा ब्यबसाय गरेर,स्वास्थ्य समस्याका कारण र अध्ययनको सिलसिलामा काठमाडौंमा बसोबास गरिरहेका नगरबासीहरुले खराब मौसमको समयमा जोखिम पूर्णयात्रा गरेर खर्च र समयको बर्बाद गर्नु नपरोस् भन्ने उद्देश्यले सहज सेवा उपलब्ध गराउन एकीकृत सेवा शिबिर सञ्चालन गरिएको जानकारी दिंदै आगामी बर्षहरुमा पनि यसलाई निरन्तरता दिने बताए ।

सेवा प्रबाह,कार्यसम्पादन,आर्थिक अनुशासन र पारदर्शितामा सोलु दुधकुण्ड नगरपालिका देश भरका ७५३ वटा पालिकामध्ये दोश्रो हुन सफल भएको बताउंदै नगरप्रमुख शेर्पाले भने,- ‘यो सफलताका पछाडि नगरबासीहरुको भूमिका महत्वपूर्ण छ।’ नगरबासीहरुले जिम्मेवारी हामीलाई दिनु भो, हामीले इमान्दारीपूर्ण ढंगले काम गर्‍यौ र यो सफलता प्राप्त भयो, अर्को बर्ष पहिलो बन्ने अठोटका साथ हामी काम गरिरहेका छौं,उनले भने ।

सेवा प्रवाह र सुशासनमात्रै नभएर नगरपालिकाले बिकास निर्माणको काम समेत द्रुत गतिमा भइ रहेको उनको भनाई थियो । आफु पहिलो पटक ०७४ सालमा नगरप्रमुखको उम्मेदवार बन्दै गर्दा अधिकांश स्थानमा पैदल हिंडेर मतदाता समक्ष पुगेको स्मरण गर्दै आफुले नगरपालिकाको नेतृत्व सम्हालेको आठ बर्षको अवधीमा नगरपालिकाका सबै वडा र अन्तरपालिका लिखुपिके गाउँपालिकासम्म बाह्रै महिना गाडीमा सहज यात्रा गर्न सक्ने अवस्था निर्माण भएको दावी पनि उनले गरे । नगरपालिका भित्र गएको आर्थिक बर्ष मात्रै विभिन्न स्थानमा नौ वटा मोटरेबुल निर्माण गरिएको बताउंदै भने- ‘संघ,प्रदेश र स्थानीय तह सबै लाग्दा समेत माप्य-खुम्बु जोड्ने पुल बन्न नसकेको र थुलुङ दुधकोशीको अवस्था पनि त्यस्तै हुंदा नगरपालिकाले आफ्नै लगानीमा त्यत्रा पुल बनाउनु चानचुने कुरा होइन।’ नगरपालिकाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा समेत उल्लेखनीय प्रगति गरेको नगरप्रमुख शेर्पाले बताए।

नगरपालिकाको भौतिक,आर्थिक र शैक्षिक बिकास देख्न नचाहने केही जन प्रतिनिधिहरु आक्रमणमा उत्रन थालेको आरोप पनि उनले लगाए । नगरपालिकाले यसैगरि बिकासलाई गति दियो भने हामी बर्बाद हुन्छौं भनेर उनीहरू हामीलाई आक्रमण गरेर निरुत्साहित गर्न खोजिरहेको छन् । ‘तर उनीहरूको सो प्रयासलाई काम मार्फत नै हामी जवाफ दिने छौं,सफल हुन दिंदैनौ’,नगरप्रमुख शेर्पाले भने ।

उद्घाटन सत्रलाई उप प्रमुख गान्धीमाया तामाङ,नेकपा एमालेका नेता आङ्दामी शेर्पा,खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं १ का वडाध्यक्ष फुनुरु शेर्पा र नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्