‘मिस एण्ड मिसेस गुरुङ’ को नयाँ संस्करण सुरु
काठमाडौं,३ साउन । नयाँ संस्करणको ‘मिस एण्ड मिसेस गुरुङ’को औपचारिक शुभारम्भ भएको छ । गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तिकरणको उद्देश्यसहित आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को उद्घाटन तथा ओरिएन्टेशन कार्यक्रम काठमाडौंको सामाखुसीस्थित विशाल फुटसलमा शुक्रबार एक कार्यक्रमबीच भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा कृषिमन्त्री रामनाथ अधिकारीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य,वरिष्ठ अभिनेता सरोज खनाल,पूर्व सांसद मानकुमारी गुरुङ,पूर्व डिआइजी डा.देउती गुरुङ,जिनोपेका प्रमुख कार्यकारी अधिकृत प्रिजम प्रधान,आयोजक टोलीका शानु खान,रबीलामा तामाङ,केशव थापा तथा नेपाल आइडल २०१७ का विजेता बुद्ध लामाको विशेष अतिथिका रूपमा सहभागिता रहेको थियो ।
एसके इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको नेतृत्व प्रबन्ध निर्देशक शान्ता लामा तामाङले गर्नुभएको थियो । उहाँका अनुसार, यो संस्करण अघिल्ला संस्करणहरूभन्दा अझ बढी व्यवस्थित, भव्य र प्रभावकारी छ । साथै, नेपालमै पहिलो पटक पूर्ण रूपमा निःशुल्क आयोजना गरिएको सौन्दर्य प्रतियोगिता हो यो जहाँ सहभागी सबै महिलालाई फारम, प्रशिक्षण तथा आवश्यक सहयोग निःशुल्क प्रदान गरिन्छ ।‘मिस एण्ड मिसेस गुरुङ’ प्रतियोगिताले गुरुङ महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्नुका साथै गुरुङ समुदायको भेषभूषा, संस्कृति र परम्परा संरक्षणमा योगदान पुर्याउने उद्देश्य बोकेको छ ।
उद्घाटन समारोह आकर्षक सांस्कृतिक झलक,प्रेरणादायी मन्तव्य र उत्साही सहभागिताले भरिपूर्ण रहेको थियो । कार्यक्रमलाई सफल बनाउन समाजसेवी,व्यवसायी,राजनीतिज्ञ तथा चलचित्र‘हिमालकी रानी’की नायिका शान्ताकुमारी तामाङको प्रेरणादायी नेतृत्व महत्वपूर्ण रहँदै आएको छ । उहाँ जुम्बा क्विन २०१५ र मिसेस नेपाल आइकन २०१५ की उपविजेतासमेत हुनुहुन्छ ।
शान्ता जय नेपाल इन्टरनेशनलकी संस्थापक हुनुहुन्छ र आदिवासी जनजाति तथा महिलाहरूको सशक्तिकरणमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ ।

