जरा केन्द्रित अभियानले आम कार्यकर्तालाई चलायमान बनाएको एमालेको निष्कर्ष
काठमाडौं,३१ असार । नेकपा एमालेले जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदै गएको निष्कर्ष निकालेको छ । पार्टी विस्तारको मह्त्वपूर्ण अंगको रुपमा रहेको संगठन विभागको बैठकले एमालेले सञ्चालन गरेको जरा केन्द्रित अभियानले आम कार्यकर्ता पनि चलायमान भएको जनाएको छ ।

संगठन विभागका सचिव माधव ढुंगेलले आज एक विज्ञप्ती जारी गदैै गत वर्षको माघ देखि चैतसम्म सञ्चालन भएको वडा केन्द्रीत पाटी निर्माण अभियान (जरा अभियान)का कारण पार्टी गतिविधी बढेको,स्थानीय पार्टी चलायमान भएको,मातहतका अधिकांस पार्टी कमिटीका अधिवेशन भएको,पार्टी सदस्यता नविकरण र विस्तारमा उल्लेख्य प्रगति भएको जनाइएको छ । ‘जनतासँग पार्टी नेता र कार्यकर्ताको सम्बन्धमा सुधार आएको।समय पुगेका जनसंगठनका महाधिवेशन र अधिवेशनहरु भएका र उनीहरु क्रमश आफ्नो समुदायमा स्थापित हुँदै गएको देखिएको छ’ ढुंगेलले विज्ञप्तीमा लेख्नु भएको छ ‘जरा अभियानले जिम्मेवारी पाएका नेता कार्यकर्ताको सक्रियता बढाएको र निर्णय कार्यान्वयनमा सुधार आएको महशुस भएको छ ।’
एमालेले राजवादीको प्रतिगामी हर्कतले जरा अभियानमा निर्धारण काम हुन नसकेपनि त्यसबेलाका कार्यभारलाई निरन्तरता दिन सबै कमिटीहरुलाई निर्देशन पनि दिएको छ । माघ देखि हालसम्म करिब ९८ प्रतिशत पालिका कमिटीका अधिवेशन भएका,८५ प्रतिशत वडाका अधिवेशन भएका र करिब १७ हजार मध्ये १० हजार भन्दा बढी टोल कमिटीहरु गठन गरिएको संगठन विभागले जनाएको छ । विभागले महाधिवेशन तथा अधिवेशनहरुमा जिम्मेवारी नपाएर बाहिर रहेका नेताहरुलाई अविलम्ब जिम्मेवारी दिनका लागि पार्टी नेतृत्वसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ । ‘जरा अभियान जस्तै अभियान लिएर जनताको घरघर सम्म पुग्ने र जनसेवा गर्ने काममा निरन्तरता दिनुपर्ने आवश्यकता गहिरो गरी महसुष गरियो’ ढुंगलले बैठकपछि जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा २३ वटा जनसंगठनका महाधिवेशन सम्पन्न भएका,पार्टीका ७७ जिल्ला मध्ये ४९ वटामा निर्वाचन र २८ वटामा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ ।
पार्टीका आसन्न विधान महाधिवेशनका सन्दर्भमा विधान संसोधन र संगठानात्मक दस्तावेजका लागि माग गरिएका विषयमा पार्टी नेतृत्वलाई संगठनात्मक रिर्पोट र आवश्यक विवरण बुझाउन पनि आग्रह गरेको छ । यसैगरी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा बनाउन ब्यवस्थित र योजनाबद्ध ढंगले अघि बढ्ने पनि बैठकको निर्णय छ । ‘पार्टीका कोर भ्यालुज स्थापित गर्न,पार्टीलाई डिजिटलाइज गर्न प्रणालीमा अभ्यस्त गराउन विशेष अभियान चलाउने प्रस्ताव पनि पारित गरिएको छ ’ विज्ञप्तीमा उल्लेख छ ।
पार्टी सदस्यहरुमा एमालेका बारेको आधारभुत जानकारी परीक्षण गर्नका लागि पार्टी सदस्य वितरण पूर्व अनिवार्य रुपमा परीक्षा गर्ने,मतदाताको ६ प्रतिशत पार्टी सदस्य संख्या पुर्याउने प्रस्ताव पारित गरेको छ । यसैगरी समुदायसँग जनसंगठन अभियान सञ्चालन गर्ने,सबै तहका कमिटीका लघु प्रशिक्षण आयोजना गर्ने,जिल्लामा एमालेको प्रोफाइल तयार गर्ने,दुई पुस्ता सँगसँगै कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले आगामी विधान महाधिवेशनका लागि संसोधन प्रस्तावहरु मर्यादित भाषामा पठाउने सबै पार्टी कमिटीहरुलाई निर्देशन पनि गरेको छ ।

