सोलुखुम्बुमा विद्युत समस्या समाधानका लागि उर्जामन्त्री खड्काको ध्यानाकर्षण
काठमाडौं,३० असार । सोलुखुम्बु जिल्लाबाट विभिन्न निजी कम्पनीद्वारा प्रबर्द्दित बिजुलीले राज्य र केन्द्रीय प्रशासनमा महत्वपूर्ण योगदान गरेपनि जिल्लाभित्रैका बासिन्दा भने विभिन्न कारणले अन्धकारमा बस्नुपर्ने अवस्था सृजना भएको भन्दै यो अवस्था अन्त्यका लागि यथोचित कदम चाल्न उर्जामन्त्री दीपक खड्काको ध्यानाकर्षण गराईएको छ।

नेपाली कांग्रेस सोलुखुम्बुको तर्फबाट सोमबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै मन्त्री खड्काको ध्यानाकर्षण गराईएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एबम् नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए ।
जिल्लाभर विद्युत प्रशारण समस्याग्रस्त रहेको जानकारी गराउंदै ज्ञापनपत्रमा समस्या समाधानका लागि सबस्टेशन, ट्रान्सफर्मर लगायत आवश्यक भौतिक संरचना गरी अबिलम्ब निर्माण गरी समस्या समाधान गर्न सुझाव समेत दिइएको थापाले बताए ।
हाल भएको तिला लाममाने सवस्टेशनलाई (११ के.भी. रमिते फिडर लाइन सोलुदूधकुण्ड नपा र नेचासल्यान गापाको लम्बाई ५४ किलोमिटर), ११ के.भी. बेलीडाँडा फिडर सोलुदूधकुण्ड नपाका ८, ९ र १० को लम्बाई ८५ किलोमिटर र ११ के.भी. दूधकोशी फिडर थुलुङदूधकोशी सोताङ, महाकुलुङ र माप्य दूधकोशीको जम्मा लम्बाई ३४० किलोमिटर) विभिन्न भूभागमा विद्युत आपूर्ति गर्न दूरीका कारण समस्या आएकोले अबिलम्ब रुपमा थुलुङदूधकोशी-७, देउसामा ३३ के.भी. सवस्टेशन निर्माण गरिनुपर्ने उल्लेख गर्दै ज्ञापनपत्रमा पर्यटकीय खुम्बु क्षेत्रमा केन्द्रीय प्रशारणमार्फत विद्युत जडानको लागि खुम्बु पासाङल्हामु गापाको खरिखोला वा लुक्लामा ३३ के.भी. सवस्टेशन निर्माणको यथाशीघ्र प्रारम्भ गर्न माग गरिएको छ ।
यसैगरी,नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र र नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालयबाट स्वीकृत भएको राष्ट्रिय प्रशारण जडानपूर्व सञ्चालनमा आएका लघु जलविद्युत परियोनजाका भौतिक संरचनाबाट अल्पकालिन रुपमा विद्युत वितरण गरिएकोमा नेपाल विद्युत प्राधिकरणले नयाँ भौतिक संरचना निर्माण गरी विद्युत वितरण गर्ने भनी भएका पूर्ववत सम्झौताहरुको अविलम्ब कार्यान्वयन गर्न माग गर्दै विभिन्न क्षेत्रमा आवश्यक ट्रान्सफर्मर, विद्युत पोललगायतका भौतिक संरचनाहरु निर्माण गर्न,समयमा बिल नदिने ढिला गरी बिल आउँदा जरिवाना लिने समस्यालाई अबिलम्ब हल गर्न,आवश्यक जनशक्तिको ब्यबस्था गर्न र गुणस्तरीय विद्युत संरचना निर्माण गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
ज्ञापन पत्रमा नेपाली कांग्रेस सोलुखुम्बुका संगठन बिभाग प्रमुख चन्द्र प्रसाद आचार्य, महाधिवेशन प्रतिनिधि नवीन थापा,दावागेलु पाख्रीन,दुर्गा प्रसाद नौबाघ,गीता गुरुङ,प्रदेश कार्यसमिति सदस्य कैलाश केसी र युवा नेताहरु राजन जंग बस्नेत,बाबुराम आचार्य र घनराज सुनुवार लगायत नेताहरुको हस्ताक्षर रहेको छ ।

