आन्दोलनमा सहभागी नहुने सदस्यहरुलाई तीन हजार जरिवाना गराउने सुनचाँदी ब्यबसायीको निर्णय



काठमाडौं,२० असार । नेपाल सरकारले सुनचाँदी,हिरा र बहुमूल्य रत्नहरूमाथि लगाएको विलासिता कर र मूल्य अभिवृद्धि कर विरुद्ध निरन्तर आन्दोलन गरिरहेका देशभरका सुनचाँदी व्यवसायी तथा कालिगढहरूले विरोध कार्यक्रममा सहभागी नहुने सदस्यहरूलाई तीन हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेका छन्

आन्दोलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल सुनचाँदी कला व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आन्दोलनमा सहभागिता बढाउने उद्देश्यले जरिवाना तोकेका हुन्।

केही व्यवसायीहरू निष्क्रिय रहँदा आन्दोलन कमजोर बन्ने खतरा बनेको देखेर उनीहरुले जरिवानाको व्यवस्था गरेका हुन् ।संघले आन्दोलनलाई सफल बनाउने रणनीति अन्तर्गत असार १९ गते बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विशाल विरोध ¥याली आयोजना गरेको छ । ¥यालीपछि कोणसभा पनि गरिने कार्यक्रम रहेको छ, जहाँ व्यवसायी नेता तथा संघका पदाधिकारीहरूले आफ्ना धारणा सार्वजनिक रूपमा राख्नेछन् ।

नेपाल सुनचाँदी कला व्यवसायी संघले बिहान १० बजे नै संघको केन्द्रीय कार्यालयमा बैठक बोलाएको छ । सो बैठकमा आन्दोलनको रणनीति, सदस्यहरूको उपस्थिति सुनिश्चित गर्ने उपाय र सरकारसँग सम्भावित वार्ताको तयारीबारे छलफल हुने बताइएको छ । संघले विरोध प्रदर्शनमा सहभागी हुन चाहने व्यवसायीहरूलाई काठमाडौंका विभिन्न क्षेत्रबाट ¥याली स्थलसम्म आउन गाडीको व्यवस्था पनि मिलाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले जेठ ६ गतेदेखि नै रत्नपार्कको गणेश मन्दिर परिसरमा रिले अनशन सञ्चालन गरिरहेको छ । उनीहरू पालैपालो अनशन बस्दै सरकारसमक्ष कर खारेजीको माग राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्